सरकार ढाल्न खोजिएको विषयमा नेकपाका शीर्ष नेताले प्रधानमन्त्रीको जवाफ मागे

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, १६ : ०६
सरकार ढाल्न खोजिएको विषयमा नेकपाका शीर्ष नेताले प्रधानमन्त्रीको जवाफ मागे

काठमाडौँ । स्थायी समितिको बैठकमा सरकार ढाल्न खोजिएको विषयमा स्पष्ट गर्न नेकपाका शीर्ष नेताले प्रधानमन्त्रीको जवाफ मागेका छन् । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा जारी स्थायी समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

नेता प्रचण्ड, खनाल र दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन भारतले प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिबारे गम्भीर विषयमा छलफल हुनुपर्ने बताएका छन्।

गत आइतबार बालुवाटारमै भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए। राष्ट्रियताका पक्षमा उभिएकै कारण आफूलाई हटाउन नयाँदिल्ली र काठमाडौंका होटलहरूमा गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको आरोप थियो । उनले यस्तो कुराको पछि पार्टीका सांसदहरू नलाग्ने विश्वास पनि व्यक्त गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेकपाभित्र तरंग आएको थियो। नेताहरूले प्रधानमन्त्रीको राजीनामाको विषयलाई प्रधानमन्त्री आफैंले स्थायी समिति बैठकको एजेन्डा बनाएको बताएका थिए।  

प्रतिक्रिया दिनुहोस