एजेन्सी । आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने बताएको छ।आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो।
सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन् ।
हालै भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए। हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।
हङ्कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा लेखेका थिए । सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन् । तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन ।
आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एक अर्कालाई दोषारोपण गरिरहेका छन् । प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो ।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ ।
सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि हात हालाहाल भएको थियो ।
(बिबिसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ असार २०७७, १२ : ३८
लेखकबाट थप