युरोपमा अमेरिकी यात्रुलाई प्रवेश स्वीकृति नदिने तयारी

एजेन्सी

आइतबार, १४ असार २०७७, ११ : ४९
युरोपमा अमेरिकी यात्रुलाई प्रवेश स्वीकृति नदिने तयारी

एजेन्सी । कोरोना भाइरसको महामारी केही कम हुँदै गएको युरोपमा जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश खुला गरिने भएको छ ।  तर युरोपियन युनियन (इयु) ले अमेरिकी यात्रुलाई यरोप प्रवेशमा रोक लगाउने तयारी गरेको छ । इयुका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने ‘सुरक्षित’ देशहरुको अन्तिम सूचि बनाइरहेका छन् ।

त्यसमा अमेरिका भने नपर्ने देखिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स र सिएनएनसहितका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकासहित दक्षिण अमेरिकी देश ब्राजिल तथा रुसलाई पनि यात्राको स्वीकृति दिइने देशको सूचिमा समावेश नगर्ने इयुको तयारी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

संक्रमणको दर निरन्तर बढिरहेका बेला अमेरिकी यात्रुलाई भ्रमणको स्वीकृति दिने सूचिमा राख्ने बारे छलफलको विषय पनि नरहेको छलफलबारे जानकार रहेका ६ कूटनीतिज्ञलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ । यात्राको स्वीकृति पाउने देशको सूचिमा चीन पनि रहेको छ, तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्त रहेको द न्यूयोर्क टाइम्सले जनाएको छ । यसबारे अन्तिम निर्णय गर्न इयुका २७ देशका प्रतिनिधिको बैठक सोमबार पुनः बस्नेछ ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख सात हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस