कोरोना भाइरस

कोरोना भाइरसविरुद्ध वेलायतमा नयाँ खोपको मानवमा परीक्षण सुरु

एजेन्सी

विहीबार, ११ असार २०७७, १२ : ४१
कोरोना भाइरसविरुद्ध वेलायतमा नयाँ खोपको मानवमा परीक्षण सुरु

साङ्केतिक फोटो

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोपको विकासमा विश्वका शक्तिशाली देशहरु जुटेका छन् । यसैक्रममा वेलायतले कोरोना भाइरसविरुद्ध नयाँ खोपको मानवमा परीक्षण सुरु गरेको छ ।

परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो । परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइने छ ।

इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन् । जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ ।

अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन् । अहिले विश्वभरि झन्डै १ सय २० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन् ।

यस्तो छ सहभागीको प्रतिक्रिया

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया क्याथी यो परीक्षणमा सहभागी हुने पहिलो मध्येकी एक स्वयंसेवक हुन् । उनले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा सहभागी हुन आफू उक्त परीक्षणमा सहभागी भएको बताइन्।

खोप नबनीकन हामी सामान्य जीवनमा फर्किन सक्दैनौँ भन्ने थाहा भएर पनि म यसको हिस्सा बन्न चाहन्छु । उनले भनिन्, मैले के सहयोग गर्न सक्छु भन्ने वास्तवमा थाहा नपाईकनै यो आयो र मलाई मैले यही सहयोग गर्न सक्छु भन्ने लाग्यो ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ। त्यसमा ६,००० मानिसहरू सहभागी हुनेछन् । इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ।

यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्वविद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन् । राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागतयोग्य भएको बताए ।

कृत्रिम आरएनएको प्रयोग

धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर वा त्यसको अंश प्रयोग गरेर बनाइएका छन् । तर इम्पीरीअल कलेजले बनाएको खोप भने भिन्न छ ।यसमा कोरोनाभाइरसको नक्कल गर्ने कृत्रिम आरएनए अर्थात् आनुवंशिक संरचना प्रयोग गरिएको छ ।

एक पटक मांसपेशीमा लगाएपछि आरएनएका प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई तिनले भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशित गर्छन् । यसबाट प्रतिरक्षा प्रणालीले कोभिड १९ वा सङ्क्रमण नभईकनै कोरोनाभाइरसलाई चिन्न र परास्त गर्न सिकाउँछ ।