काठमाडौँ उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ

पत्रपत्रिकाबाट

बुधबार, १० असार २०७७, ०७ : ३४
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

काठमाडौँँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताउनुभयो ।

निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौँ भित्रिनेको सङ्ख्या बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक एक हजार आठ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन् । करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उहाँले भन्नुभयो, पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस