आर्मीलाई हराउँदै फ्रेण्डस क्लव सेमीफाईनलमा प्रवेश

सोमबार, १४ फागुन २०७४, १८ : ५४
आर्मीलाई हराउँदै फ्रेण्डस क्लव सेमीफाईनलमा प्रवेश

नारायणगढ :विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फ्रेण्डस क्लव काठमाडौं चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस सेमीफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले एक–एक गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा आर्मीका तीन खेलाडी गोल गर्न चुके भने फ्रेण्डका दुई खेलाडीले गोल गर्न सकेनन् ।

यसअघि खेल सुरु भएको तेस्रो मिनेटमै विदेशी खेलाडी जोनल ग्लोरीले गोल गर्दै फ्रेण्डसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर निरन्तर दवाब दिईरहेको आर्मीका कप्तान प्रिन्स कार्कीले १८ औं मिनेटमा फ्रि किक मार्फत आकर्षक गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । आर्मी केही दिन अघि मात्र सकिएको हेटौंडा गोल्डकपको उपाधि जितेको थियो । जसका कारण आर्मीले स्टार खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथुलाई आराम दिएको थियो ।

प्रतियोगिता अन्तरगत भोली (मंगलबार) थ्रीस्टार क्लव र नारायणगढ फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस