लकडाउनमा झनै बढ्यो महिला हिंसा, औसतमा दिनहुँ ५ महिला बलात्कृत

पत्रपत्रिकाबाट

सोमबार, ०८ असार २०७७, ०८ : ३९
लकडाउनमा झनै बढ्यो महिला हिंसा, औसतमा दिनहुँ ५ महिला बलात्कृत

काठमाडौं । लकडाउनको अवधिमा महिला हिंसाका घटना बढेका छन् । ११ चैतदेखि ३२ जेठसम्म देशभर महिला हिंसासँग सम्बन्धित पाँच सय ४१ घटना भएको प्रहरीले जनाएको छ । यो संख्या यही अवधिमा भएको संगठित अपराधको तुलनामा झन्डै ३१ प्रतिशतले धेरै हो । संगठित अपराधका घटना तीन सय ७६ भएका छन् ।

प्रहरीका अनुसार लकडाउनको अवधिमा बलात्कारका घटना मात्रै तीन सय ७३ भएका छन् । प्रत्येक दिन औसत पाँचजना महिला बलात्कृत भएका छन् । सामान्य अवस्थामा दैनिक औसत सात महिला बलात्कारको सिकार हुने गर्थे । त्यस्तै, जबर्जस्ती करणीका तीन सय ७३, जबर्जस्ती करणी उद्योगका एक सय एक, बोक्सी आरोपका आठ, बहुविवाह ३४, अप्राकृतिक मैथुनका सात तथा बालविवाह र मानव बेचबिखनका नौ–नौ घटना भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले संगठित अपराधको तुलनामा महिला हिंसाका घटना अलि धेरै भए पनि सामान्य दिनको तुलनामा भने केही कम भएको बताए । ‘संगठित अपराधको तुलनामा महिला तथा बालबालिकासँग सम्बन्धित अपराधका घटना केही बढेका हुन् । प्रहरीको सक्रियताका कारण अनुसन्धान भएको र प्रहरीले रेस्पोन्स गरेको अर्थमा पनि यसलाई बुझ्नुपर्छ । भएको पनि त्यही हो । हामीले महिला तथा बालबालिकासँग सम्बन्धित कुनै पनि घटनामा कम्प्रोमाइज गरेका छैनौँ । आवश्यक अनुसन्धान गरेका छौँ,’ उनले भने ।

महिला आयोगले पनि लकडाउन अवधिमा महिला हिंसाका उजुरी बढेको जनाएको छ । आयोगमा यस अवधिमा दर्ता भएका ६ सय चार घटनामध्ये ७७ प्रतिशत घरेलु हिंसा र १३ प्रतिशत यातनासँग सम्बन्धित छन् । यस अवधिमा एक हजार तीन सय घटनाको उजुरी त टेलिफोनबाट मात्रै आएको आयोगले जनाएको छ । आयोगकी सचिव शान्ता अधिकारीले लकडाउन अवधिमा महिला हिंसाका घटना बढेको बताइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस