सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभएको छ । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो ।
चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताउँनुभयो । दश महिना पहिले भारतको मेदान्त अस्पतालमा भर्ना हुनुभएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराउनुभएको थियो । त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्कनुभएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको थियो ।
अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवाहाक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । सोही बेला उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको थियो । पूर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ । उहाँको तीन छोरा छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गजलकार प्रकट पंगेनीको निधन
पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त
लुम्बिनी प्रदेशका पूर्वप्रमुखको निधन
इजरायलको आक्रमणमा परी चर्चित प्यालेस्टाइनी फुटबलरको निधन
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
विश्वकपको फाइनलमा निर्णायक गोल गर्ने जर्मन फुटबलर ब्रेहमको निधन