काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा काँग्रेसका सांसद जीतेन्द्रनाराण देवले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइयोस्’ भन्ने प्रस्ताव पेश गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारद्वारा गठित आयोगले गरेका सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक भएको बताउनुभयो ।
सरकारले अर्थशास्त्री डा डिल्लीराज खनालको संयोजकत्वमा सार्वजनिक खर्च पुनरवलोकन आयोग गठन गरेको थियो । आयोगले २०० बढी आयोग, बोर्ड तथा विकास समितिमध्ये १२३ लाई खारेज गरी केहीलाई एकीकृत गर्न सुझाव दिएको थियो । सांसद देवले भन्नुभयो, “आफैले गठन गरेको आयोगको सिफारिसलाईसमेत कार्यान्वयन नगरी बजेट ल्याइयो ।”
सोही दलका सांसद प्रकाश पन्थले ‘विनियोजन विधेयक, २०७७’ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव राख्दै कानून मन्त्रालयलाई थप सवलीकरण गरिनुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको प्रयोगलाई ब्यापक बनाउँदै सूचना प्रविधिलाई शिक्षा, कृषि तथा राष्ट्रिय सुरक्षासँग जोडिनुपर्ने उल्लेख गर्दै उहाँले नेपाल टेलिभिजन र रेडियो नेपालाई सार्वजनिक प्रसारण संस्थाका रुपमा विकास गर्न माग गर्नुभयो ।
काँग्रेसका सांसद तारादेवी भट्टले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै महिला, किशोरी, महिला तथा बालबालिकालाई सशक्त बनाउने सूचक बजेटमा समेटिन नसकेको गनुासो गर्नुभयो । महिला सशक्तीकरणमा बजेट किन विनियोजन नगरिएको भनी प्रश्न गर्दै उहाँले महिला हिंसा, मानव बेचविखन, यौन शोषण अन्त्य गर्न मन्त्रालयले गरिरहेको कामका बारेमा बजेटमा उल्लेख नगरिएको बताउनुभयो ।
काँग्रेसकै सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने खर्च कटौती प्रस्ताव पेश गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको नाममा राज्यकोषको दुरुपयोग हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर असल श्रम सम्बन्ध कायम हुने वातावरण सिर्जना गर्न उहाँले माग गर्नुभयो ।
रोजगारी गुमाएर विदेशबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान नपुगेको भन्दै उहाँले उद्धारको खर्च व्यहोर्न नसक्ने श्रमिकलाई सरकार आफँैले खर्च व्यहोरेर उद्धार गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसकै सांसद रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लाखौँ खर्च गरेर वृक्षरोपण गरिएका क्षेत्रमा कुनै बोटबिरुवा नपाइएकाले कागजमा मात्रै वृक्षरोपण गरेर वन संरक्षण नहुने बताउनुभयो ।
डढेलो नियन्त्रणका नाममा लाखौँ घोटला हुने तथा बजेट दुरुपयोग गर्न जानीजानी डढेलो लगाउने गरेको पाइएको भन्दै उहाँले डढेलो नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ असार २०७७, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल