नक्शाको स्वागतमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा दीप प्रज्ज्वलन

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०७७, २१ : ०७
नक्शाको स्वागतमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा दीप प्रज्ज्वलन

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजनामा आज (शनिबार) भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । कालापानी सहितको नेपालको गुमेको भूभाग नेपालको नक्सामा समेटेर संसदबाट पारित भएको उपलक्ष्यमा दीप प्रज्ज्वलन गरिएको हो ।

सो अवसरमा फाउण्डेशन वागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य विजय सुवेदीले सदियौंदेखि गुमेको नेपालको भूभाग नेपालको संविधानमा नै उल्लेख गरी नक्सामा समेटिएको बताउनुहुँदै यो ऐतिहासिक कार्य भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताका सवालमा चालेका कदमको प्रशंसा गर्दै कालापानीबाट भारतीय सेना हटाएर नेपाली सेना राख्न वर्तमान सरकार सक्षम हुने बताउनुभयो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले विगत लामो समयदेखि गणतन्त्र र राष्ट्रियताको पक्षमा आन्दोलन गरिंदै आएको स्मरण गर्दै गणतन्त्र र राष्ट्रियता दुवै स्थापित भएको बताउनुभयो । उहाँले अब जनजीविका र विकासको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम बिष्ट लगायतकाले यो दिनलाई ऐतिहासका पानामा सुनौली अक्षरले लेखिने बताउनुभयो ।

कार्यक्रममा उपस्थितहरुले चौबीसकोठी चोकमा नेपालको नक्सा बनाई दीप प्रज्ज्वलन गर्नुका साथै खुशी साटासाट गर्नुभएको थियो । कार्यक्रममा युवा, विद्यार्थी, राजनीतिज्ञ लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशन चितवनले राष्ट्र, राष्ट्रियता, विकास र जनजीविकाका विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस