प्रतिलिपि अधिकार विधेयक स्वीकृत

रासस

विहीबार, २९ जेठ २०७७, १४ : ३१
प्रतिलिपि अधिकार विधेयक स्वीकृत

फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री  भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गर्नुभयो । 

उहाँले स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भन्नुभयो, “नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प्रयास गरिएको छ ।”

सांसद रामनारायण बिडारी, प्रकाश पन्त, कोमल वली र वेदुराम भुसालले उक्त विधेयकमाथिको छलपलमा भाग लिनुभएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस