अस्ट्रेलिया र युएईबाट आउँदैछन् तीन सयभन्दा बढी अलपत्र नेपाली

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १५ : ००
अस्ट्रेलिया र युएईबाट आउँदैछन् तीन सयभन्दा बढी अलपत्र नेपाली

साङ्केतिक फोटो

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको कारण रोजगारी गुमाई अलपत्र परेका नेपालीमध्ये अस्ट्रेलिया र युएईबाट तीन सयभन्दा बढी नेपाली स्वदेश आउँदैछन् ।

विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अस्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरूलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए । त्यसबेला यूएईस्थित नेपाली दूतावासले तोकेको सूचीका व्यक्तिभन्दा फरक व्यक्ति काठमाडौं आएपछि विवाद पनि भएको थियो । उडान भाडालाई लिएर विवाद भएका बेला दुई वटा निजी कम्पनीले नेपालीलाई काठमाडौं पठाइदिएको थियो ।

बुधबार आउने विमानमा दूतावासको सूचीअनुसारका तीन सयदेखि चार सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरूलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ । नेपालमा आएर उनीहरूलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।