‘व्यायाम र सरसफाइ’ मा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ

रासस

शुक्रबार, २३ जेठ २०७७, ०९ : ४७
‘व्यायाम र सरसफाइ’ मा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ

सांकेतिक तस्बिर ।

खोटाङ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घरफर्कनु भएको छ । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना हुनुभएका राई १४ दिनपछि बिहीबार घर फर्कनुभएको हो ।

कोरोना जितेर अस्पतालबाट घरफर्कीए नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राईलाई पुनः अस्पतालमै राखिएको छ । सङ्क्रमण देखिएको दिनदेखि अहिलेसम्म सामान्य अवस्थामा रहनुभएका राईलाई जिल्ला फर्किएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने शर्तमा कोभिड अस्पतालले फर्काएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताउनुभएको छ ।

सङ्क्रमित राई अस्पतालमा भर्ना भए पनि दुई–तीन दिनबाहेक औषधि सेवन नै नगरी निको हुनुभएको जनाइएको छ । काठमाडौँबाट गत वैशाख १२ र १३ गते नगरपालिकाले उद्धार गरेर ल्याइएका एक हजार ३१८ मध्ये ३४ जनाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण देखिएको थियो ।

आफूलाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको दिन सामान्य रुघाखोकी लाग्नुबाहेक कुनै लक्षण नदेखिएको राईले बताउनुभयो । “सङ्क्रमण पुष्टि हुनुभन्दा पहिले र अस्पतालले डिस्चार्ज गर्दासम्म कुनै समस्या भएको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमण देखियो भनेर आत्तिनुभन्दा उच्च मानोबलका साथ खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा कोरोना जित्न सकिने रहेछ ।”

वैशाख १२ गते काठमाडौँबाट घर आउनुभएका राईलाई अस्पतालले घर पठाएसँगै उनलाई ल्याउन नगरपालिकाबाट सवारी साधन पठाइसकिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “अस्पतालबाट डिस्चार्ज भएको कुरा बिहीबार अबेर मात्र जानकारी भयो”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट सवारी साधन पठाइसकिएकाले उनलाई ल्याएर स्वास्थ्यकर्मीकै सुझावमा होम क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।” 

यसैबीच सोही नगरपालिकाका तीन व्यक्तिमा बिहीबार पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा वडा नं १ बाहुनीडाँडाका २१ वर्षीय दुई युवक र वडा नं ५ दुर्छिमका ४५ वर्षीय पुरुष छन् । भारतबाट आएका उनीहरुलाई सङ्क्रमण पुष्टि भएलगत्तै उपचारका लागि बिहीबार नै एम्बुलेन्समार्फत कोभिड अस्पताल विराटनगर पठाइएको नगरपालिकाले जनाएको छ ।

बाहुनीडाँडाका दुई युवक भारतको कानपुरबाट जेठ ११ गते र दुर्छिमका ४५ वर्षीय पुरुष भारतकै गोरखपुरबाट जेठ १६ गते गाउँ आएका थिए । रोजगारीको सिलसिलामा भारतमा बसेर आएका तीनै जनालाई नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको थियो । भारतबाट आएपछि उनीहरु परिवारको सम्पर्कमा पुग्न नपाए पनि दुर्छिमका सङ्क्रमितसँग रावाबेँसी गाउँपालिकाकाको खार्पाका एक र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्तिसँगै यात्रा गरेको खुलेको छ ।

सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेर आउने उनीहरुको खोजी गर्ने काम भइरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले बताउनुभयो । सङ्क्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गरेर परीक्षणमा पठाउन जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने नाका पूर्णरुपमा बन्द गर्नुका साथै कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस