आंशिक पसल सञ्चालनमा आउँदा उपभोक्ता र व्यवसायी खुशी

रासस

विहीबार, २२ जेठ २०७७, २१ : ४१
आंशिक पसल सञ्चालनमा आउँदा उपभोक्ता र व्यवसायी खुशी

काठमाडौँ । बन्दाबन्दीको कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी भएका छन् ।
सबै क्रियाकलाप बन्द भए पनि गरीब, विपन्न, मजदूर र असहाय मानिस बन्दाबन्दीको गम्भीर असर खेप्नुपरेको थियो ।  

यो अवस्थालाई सहज बनाउन स्थानीय तहले राहत वितरण पनि गरेको थियो । एक परिवारमा करिव १३ केजी चामल, दाल, नुन, तेल, साबुन सहित अन्य सामग्री वितरण गर्दा विराटनगर महानगरपालिकामा करीब ३० हजार परिवारले राहत पाएका छन् । यो राहत वितरण गर्न प्रदेश सरकारले रु २० लाख सहयोग गरेको थियो । तीस हजार परिवारलाई राहत वितरण गर्न महानगरपालिकाले लगभग रु दुई करोड ५० लाख भन्दा बढी खर्च गरेको छ । यसमा केही सामाजिम सङ्घसंस्था र  उद्योगीले पनि सहयोग गरेको पाइएको छ  ।

मोरङमा लगभग ८० हजार परिवार भन्दा बढीमा राहत वितरण गरिएको छ । राहत वितरण गर्न प्रदेश सरकारले महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाख सहयोग प्रदान गरेको छ ।

रोजगार न खुल्ने, व्यापार व्यवसाय सञ्चालन नहुने हो भने सरकार वा स्थानीय तहले पुनः राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना हुने भएबाट अर्थतन्त्र मात्र होइन विकासनिर्माणमा पनि ठूलो धक्का लाग्ने बुद्धिजीवीको भनाइ रहिआएको थियो । 

मोरङको सबै भन्दा पुरानो व्यापारिक संस्था मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजार आंशिक रुपमा खुल्नाले आफूहरुको भावनाको कदर भएको पाइएको बताउनुभयो ।
महानगरपालिकाले आजदेखि चार घण्टा बजार खुल्ने निर्णय  कोरोना उपचार, रोकथाम एवं नियन्त्रण गर्न सरकारले बनाएको उच्चस्तरीय समितिअनुसार नभए पनि आपसी सझदारीले मात्र गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । 

मुबारक फलफूलको पसल सञ्चालक नाजो मियाँले अहिले पसल सञ्चालन गर्न केही समय पाएपछि आफ्नो रोजगारी पनि चल्ने र घरधनीलाई भाडा तिर्न पनि सजिलो हुने प्रतिक्रिया दिनुभयो । सोही स्थानमा चिया पसल गर्ने दिनेश साहले अहिले दिनको करीब रु एक हजारभन्दा बढीको चिया र नास्ता बिक्री गर्ने गरेको जानकारी दिनुभयो । विराटनगर रोडशेष नजिकै रहेका युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसेनले आजदेखि चार घण्टा बजार खुल्ने सूचनाले  थोरै समय काम गर्न पाएको र यसबाट ग्यारेजमा काम गर्ने कामदारलाई जीविकोपार्जन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस