कोरोना संक्रमित भेटिएपछि केएमसी अस्पताल बन्द

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, ०८ : ०२
कोरोना संक्रमित भेटिएपछि केएमसी अस्पताल बन्द

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । दुई चिकित्सक, एक नर्स र दुई बिरामी गरी पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको हो ।

ट्रेसिङ कार्य जारी रहेको र संक्रमित चिकित्सकको संख्या मंगलबारसम्म एक रहेकोमा बुधबार अर्का एक चिकित्सक पनि थपिएका छन् । मंगलबार ४ जना संक्रमित देखिएसँगै राति नै सूचना निकालेर अस्पताल बन्द गरिएको केएमसी मेडिकल कलेजका प्रमुख प्राडा चन्दा कार्कीले बताइन् ।

केएमसीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेको भए पनि सिनामंगलमा बिरामी, चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ । चिकित्सक र बिरामीमा कोरोना संक्रमण भएको भन्दै अस्पतालको आकस्मिक सेवासमेत बन्द गरिएको छ ।