अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

एजेन्सी

मंगलबार, २० जेठ २०७७, १५ : ४४
अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । 

विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । 

अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।

तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । (रासस–एएफपी) 

प्रतिक्रिया दिनुहोस