म्याजिकल मेस्सी : फेरि बनाए गोल र एसिस्टको किर्तिमान

एजेन्सी

आइतबार, १३ फागुन २०७४, १४ : १२
म्याजिकल मेस्सी : फेरि बनाए गोल र एसिस्टको किर्तिमान

बार्सिलोना । लियोनेल मेस्सीले गोल र एसिस्टको नयाँ किर्तिमान बनाउँदा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जिरोनाविरुद्ध ६–१ को विशाल जित हासिल गर्न सफल भएको छ ।

मंगलबार च्याम्पियन्स लिगमा चेल्सीबिरुद्ध १–१ को बराबरीमा इंग्लिस टोलीविरुद्ध पहिलो गोल गरेका मेस्सीले शनिबार जिरोनाविरुद्ध गोल गर्दै हालसम्म गोल गर्न नसकेको टोलीको संख्या १० मा सिमित गरेका छन् ।

क्याम्प नाउमा जिरोनाले खेलको शुरुवातमा नै अप्रत्यासित अग्रता लिएको थियो । तर, दुई मिनेटपछि नै मेस्सीले लुइस सुवारेजलाई गोलको अवसर सृजना गरे । ला लिगामा उनको यो किर्तिमानी १४८ औँ एसिस्ट थियो ।

त्यसपछि खेलको ३० औँ मिनेटमा सुवरेजले मेस्सीका लागि गोलको अवसर सृजना गरे । अर्जेन्टिनी खेलाडीले क्याटालान छिमेकीविरुद्ध यसअघिका दुई प्रयासमा गोल गर्न असफल भएका थिए ।

योसँगै मेस्सीले ला लिगामा ३६ फरक प्रतिद्वन्द्वी क्लबबिरुद्ध गोल गरेका छन् । रियल म्याड्रिडका राउल र एथ्लेटिक क्लबका आरिट्ज अडुरिजलाई पछि छाड्दै उनले ला लिगाको इतिहासमा नयाँ किर्तिमान बनाएका छन् ।

त्यसको ६ मिनेटपछि उनले फ्रिककबाट अर्को गोल थपे भने पहिलो हाफको अन्त्यतिर सुवारेजले अर्को गोल थप्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा फिलिपे काउन्टिन्होले अर्को गोल थपे भने लुइस सुवारेजले आफ्नो ह्याट्रिक पूरा गरे ।

जीतसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंको अग्रता बनाउन सफल भएको छ । बार्सिलोना दुई सिजनको अन्तरालमा पछिल्ला ३२ ला लिगा खेलमा अपराजित रहेको छ ।

अब १३ खेल बाँकी छँदा सन् १९३० पछि पूरै ला लिगा सिजन अपराजित रहने पहिलो टोली बन्ने सम्भावना रहेको छ । सन् १९३० मा भने पूरै सिजन १८ खेलको मात्र हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस