सनराइज पब्लिकेशन्सको कतूर्त : ‘पुस्तकको बास्तविक मूल्यमा कालो पोतेर कालोबजारी’ कारवाही गर्ने निकाय मौन

प्रकाश सिग्देल

सोमबार, १९ जेठ २०७७, ११ : ३४
सनराइज पब्लिकेशन्सको कतूर्त : ‘पुस्तकको बास्तविक मूल्यमा कालो पोतेर कालोबजारी’ कारवाही गर्ने निकाय मौन

चितवन । पुस्तक प्रकाशन संस्था सनराइज पब्लिकेशन्सले सरकारी निती–नियमको अवज्ञा गर्दै चितवनमा पुरानो शैक्षिक सत्रको पुस्तकमा नयाँ शैक्षिक सत्रको बिक्री मुल्य कायम गरि लूट मच्चाएको पाइएको छ ।  कुनै पनि पाठ्यपुस्तकको वास्तविक मूल्यमा कालोपोतेर नयाँ मूल्य हालेर बिक्री गर्न नपाइने नियम हुँदाहुँदै सो पब्लिकेसन्सले भने यस्तो नियमको धज्जी उडाएको हो । 

सनराइजले विद्यालय तहको कम्प्युटर साइन्स पुस्तकमा वास्तविक प्रिन्टेड मूल्य हटाएर ९कालो पोतेर० नयाँ मूल्य हालेर पुस्तक बजारमा पठाएको हो । तर पुस्तकमा सिधै यसरी लूटको धन्दा चलेपनि सरोकारवाला निकाय भने मौन छ । पुस्तकमा कालोपोतेर बिक्री गर्नु गैरकानुनी हो भनेर जान्दा जान्दै पनि चितवनका ठुला भनिएका व्यसायीहरुले तिनै पुस्तक धमाधम बिक्री गरिरहेका छन् ।

व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले समेत यस्तो गर्न नपाईने बताइरहँदा जिल्लामा नेतृत्वमा रहेका व्यवसायीहरु भने पब्लिकेसन्सकै पक्षमा रहेर विक्री बितरण गरेको पाईएको छ । सनराईज पब्लिकेशन्स्बाट प्रकासन भएका कक्षा १ देखि १० सम्म पढाई हुने स्कुल लेवलको कम्प्युटर साइन्सका अधिकांश  पुस्तकमा कालो पोतेर नयाँ मूल्य राखी पुस्तक बजारमा पठाएको छ । आम अभिभावक यो पब्लिकेसनको ठगी धन्दा हो भनेर जान्दाजान्दै विकल्पको अभावमा पुस्तक किन्न बाध्य छन् ।

पुस्तक व्यवसायीहरुका अनुसार पब्लिकेसनले  प्रति पुस्तक १० रुपैया दरले मूल्य बढाएको छ । यो प्रकाशन गृहले चितवनका झण्डै २०० को हाराहारीमा रहेका स्कुलमा प्रति स्कुल २ सिरिजका दरले पुस्तक लगाएको छ । यसरी हेर्दा यो प्रकाशन गृहले चितवनमा मात्रै करोडौं मूल्यको पुस्तकको कारोबार गरेको देखिन्छ ।  स्रोतका अनुसार चितवनमा सबैभन्दा धेरै पुस्तकको कारोवार गर्ने पनि सनराइज पब्लिकेसन नै हो । यो प्रकाशन गृहको २०७५ सालमा छापिएका पुस्तकमा कालो पोतेर अहिले नयाँ मूल्य राखेर बिक्री भएको भेटिएको छ ।

यस विषयमा जिज्ञासा राख्दा सनराइज पब्लिकेसनका सञ्चालक नवराज पौडेलले  गैरजिम्मेवार तर्क प्रस्तुत गर्दै  भने–‘पाठयक्रम विकास केन्द्रले पुस्तकको मुल्य बृद्धि गरेकाले गर्नुपरेको बताए ।’ तर पाठ्यक्रम विकास केन्द्रले पुस्तकको मुल्य यो शैक्षिक सत्रबाट बृद्धि हुने गरि लागु गरेको छ । तर सनराइज पब्लिकेशन्स्ले भने मुल्य बृद्धि नहुंदै २०७५ सालमा छापिएका पुराना पुस्तकहरुलाई अहिले २०७६ सालको ईडिसन भनि लखेर बृद्धि गरिएको नयाँ मुल्य सामान्य प्रिन्ट गरेर बजारमा धमाधम बेचिरहेको पाईएको छ ।

यसरी पुरानो शैक्षिक सत्रको पुस्तकमा कालो पोतेर नयाँ मुल्यमा किन बिक्री गरेको भन्ने प्रश्नमा संचालक नवराज पौडेलले अक्मिकिदै भने–‘सरकारले नै बढाउन भनेपछि हामीले पुरानो सत्रका पुस्तकमा पनि नयाँ मुल्य समायोजन गरेका छौं ।’ यसरी सो पब्लिकेशन्स्ले आफुखुसी राज्यको निती नियम, कानुनलाई धज्जी उडाउदै मनोमानी गर्दै अभिभावक माथि थप व्यवभार थपेको छ । तर सरकारले भने अनुगमन गर्नुको साटो निरिह जस्तै बनेर बसेको छ ।

यसै विषयमा पुस्तक व्यवसायीको छाता संगठन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष मनहरी बस्यालसंग जिज्ञासा राख्दा उनले भने–‘सरकारले प्रत्येक वर्ष पुस्तकको मुल्य समायोजन गरेर मुल्य बढाउछ, तर पुरानो शैक्षिक सत्रको पुस्तकमा नयाँ मुल्य लिन पाईदैन् ।’ उनले अगाडी थप्दै भने–सनराइज पब्लिकेशन्स्ले पुरानो पुस्तकमा कालो पोतेर र नयाँ मुल्यको स्टीकर टाँसेको छ भने पाठ्यक्रम विकास केन्द्रले कारवाही गर्नुपर्छ ।’ पुस्तकको मुल्य प्रिन्टेड नै हुनुपर्ने उनको तर्क छ । 

केन्द्रले २०७६ मंसिरमा पाठयक्रम विकास केन्द्रले कभर पेज र अगाडिको ४ पेज पनि जोडेर नयाँ दर कायम गरेको छ । 
पुरानो वर्षको पुस्तक नयाँ शैक्षिक सत्रमा विक्री गर्दा मूल्य बढाएर बेच्न नपाइने गरी नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रसँग समन्वय भइ शिक्षा मन्त्रालयमा निर्देशिका समेत तयार भएको बस्यालको भनाई छ ।  यता पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश प्रसाद भट्टराईले कुनै पनि व्यवसायी र पब्लिकेसनले आफुखुसी पुस्तकको मूल्य बढाउन नपाउने बताए । 

पाठ्यक्रम विकास केन्द्रको स्वीकृति बिना कसैले पुस्तकको मूल्य बढाएको पाइएमा त्यस्तो प्रकाशन गृहको स्वीकृति रद्ध समेत गर्ने अधिकार केन्द्रमा रहेको बताउँदै उनले त्यस्तो प्रकाशन गृहलाई कारबाही हुने बताए । कुनै पनि प्रकाशन गृहले बढी मुल्यमा पुस्तक बिक्री गरे हरेक स्थानीय तहका प्रमुखलाई कारबाही गर्ने अधिकार रहेको र स्थानीय तहले कारबाही नगरे जिल्ला शिक्षा इकाई प्रमुखलाई कारबाही गर्ने अधिकार रहेको बताए ।  र त्यहाँ पनि नभए शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकको अध्यक्षतामा केन्द्रीय अनुगमन समिति रहेको र यो समितिसम्म उजुरी आएमा प्रकाशन गृहको स्वीकृति रद्ध गर्न सक्ने प्रावधान पनि रहेको उनले बताए । 

यता चितवनका ठुला होलसेल भनिएका व्यवसायीहरुले अहिले धमाधम कालो पोतेको पुस्तक नयाँ मूल्यमा बिक्री गरिरहेका छन् । ठुला व्यवसायीले यसरी पुस्तक विक्री गर्दा आफूहरुलाई  ठुलो मार परेको साना व्यवसायीले बताए । आफुहरुकोमा अभिभावकहरु आएर पुस्तक किन्ने र किन कालो पोतेर नयाँ मूल्य लगाएको भनेर प्रश्न गरेपछि आफूहरु नाजवाफ हुनुपरेको चितवनका एक पुस्तक पसलेको गुनासो छ ।
 

प्रतिक्रिया दिनुहोस