कोरोनालाई जितेर अस्पतालबाट घर फर्किइन् गर्भवती

सूर्यप्रकाश कँडेल

आइतबार, १८ जेठ २०७७, १७ : ०६
कोरोनालाई जितेर अस्पतालबाट घर फर्किइन् गर्भवती

चितवन । पाँच महिनाकी गर्भवती । घर गएका बेला परीक्षणमा देखियो कोरोना संक्रमण । तर, ती महिलाको आत्मबल र शरीरको बलियो रोग प्रतिरोध क्षमताको कारण एक हप्तामै गल्यो कोरोना ।

हो, कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २५ वर्षीया गर्भवतीले एक सातामै कोरोनालाई जितेकी छिन् । शुक्रबार र शनिबार भरतपुरमा गरिएको कोरोना परीक्षणमा लगातार नेगेटिभ नतिजा प्राप्त भएपछि भरतपुर अस्पतालले आइतबार उनलाई पुष्पगुच्छा र निको भएको कागजपत्रसहित बिदाई गरेको छ । 

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमित महिला निको भएपछि उनलाई एम्बुलेन्समा हेटौँडा पठाइएको जानकारी दिए । 

उनका अनुसार भरतपुर अस्पतालमा अहिले अन्य दुई जना संक्रमितको उपचार भइरहेको छ । यसैगरी भरतपुर अस्पताल मातहत रहेको कोरोना विशेष अस्थायी अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ । यसअघि राप्ती नगरपालिका निवासी आमा र छोरा कोरोनामुक्त भई भरतपुर अस्पतालबाट घर फर्किएका थिए ।

कोरोनालाई जितेर घर फर्कन लागेकी पाँच महिनाकी गर्भवतीले आफूलाई कोरोना लागेको भनेर सुरुमा सुनाउँदा अचम्म लागेको बताइन् । आफूलाई कसरी कोरोनाको संक्रमण भयो भन्ने अनुमान लगाउनै नसकेको बताउँदै उनले भनिन्, ‘कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो भन्ने सुन्नेबित्तिकै सुरुमा त डर पनि लाग्यो । अहिले भने खुसी लागेको छ । एक हप्तामै निको भएर घर जान पाएकी छु ।’ कोरोना भाइरसको संक्रमण हुँदैमा कोही आत्तिनु नपर्ने उनले सुझाव दिइन् ।

भरतपुर महानगरपालिका १२, मालपोतचोक नजिकै रहेको डेरामा पतिसहित बस्दै आएकी ती महिला जेठ ९ गते श्रीमानसँग मोटरसाइकलमा हेटौँडा गएकी थिइन् । भोलिपल्ट जेठ १० गते शनिबार हेटौँडास्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल ल्याई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनका पतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

कोरोना संक्रमित गर्भवती श्रीमानसँग डेरामा बस्दै आएको घरलाई गत बुधबार नै सिल गरी घरमा रहेका अन्य तीन जना र छिमेकका एक जनाको गत बिहीबार स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।