पुस्तकको मूल्यमा कालो पोतेर विक्री गर्दै व्यवसायी, चितवनमा ठूला व्यवसायीको दादागिरी

प्रकाश सिग्देल

शनिबार, १७ जेठ २०७७, १८ : ४२
पुस्तकको मूल्यमा कालो पोतेर विक्री गर्दै व्यवसायी, चितवनमा ठूला व्यवसायीको दादागिरी

– प्रकाश सिग्देल
चितवन । चितवनका पुस्तक व्यवसायीहरुले गैरकानुनी काम गरीरहेका छन् । पुरानो पुस्तकमा कालो पोतेर नया मूल्य कायम गरी विक्री गर्ने काम गैरकानुनी भएको जान्दाजान्दै पनि चितवनका ठूला भनिएका होलसेल व्यवसायीहरुले धमाधम मूल्यमा कालो पोतिएका पुस्तकहरु विक्री गरीरहेका छन् । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेकै बेला सरकारले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति पाएका पुस्तक विक्री गर्न पुस्तक पसल खोल्न अनुमति दिएसँगै व्यवसायीहरुले मनपरी तवरबाट स्वीकृति पाएका नपाएका सबै खाले पुस्तक विक्री गरी अभिभावक माथि ठगी गरेका हुन् । पुस्तकको मूल्यमा कालो पोतर नया मूल्य राखेर विक्री गर्न नपाइने व्यवस्था भएपनि व्यवसायी तथा प्रकाशन गृहहरुले सरकारी नीयम अटेर गरी मनोमानी गरेका हुन् । 

यसरी नीयम विपरीत कालोपोतेर नया मूल्य हालेर पुस्तक बजारमा विक्री भइरहदा पनि जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकार कर्मी, शिक्षा समन्वय ईकाई लगायत सरोकारवाला निकायहरु यस्ता प्रकाशन गृह र व्यवसायीलाई लुुट गर्ने छुट दिइरहेका छन् । कालो पोतेर नयाँ मूल्यमा पुस्तक विक्री गर्नु ठगीधन्दा हो भनेर जान्दाजान्दै पनि आम अभिभावकले पुस्तक नपाईने होकी भन्ने डरले पनि जति भन्छन् उति नै मूल्य हालेर पुस्तक किन्न बाध्य छन् । पुस्तक व्यवसायीहरुका अनुसार सनराईज पब्लिकेशनले अहिले प्रति पुस्तक १० रुपैयाँ दरले मूल्य बढाएर पुरानो मूल्यमा कालो पोतेर विक्री गरेको छ ।  

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रका अनुसार कुनै पनि प्रकाशन गृहले पुस्तकमा कालो पोतेर स्टीकर टासेर विक्री गरेको पाइए त्यस्तो कामलाई गैरकानुनी मानिने छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले कुनैपनि व्यवसायी र पब्लिकेशनले आफूखुसी पुस्तकको मूल्य बढाउन नपाउने बताउनु भयो । पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिबिना कसैले पुस्तकको मूल्य बढाएको पाइएमा त्यस्तो प्रकाशन गृहको स्वीकृती रद्ध समेत गर्ने अधिकार केन्द्रमा रहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार रङ्गिन कितावको स्वीकृत प्राप्त बजार मूल्य कक्षा १ को अहिलेको नयाँ कितावको प्रतिपेज १ रुपैयाँ ५० पैसा, र त्यो भन्दा माथिका कक्षाको सबै कितावको प्रतिपेज १ रुपैयाँ ४५ पैसा तोकिएको छ ।  

पाठयक्रम विकास केन्द्रले पुस्तकको मूल्य तोकिदिएको हुने र त्यो सबै स्थानीय तहमा जानकारी गराउने गरेको र जिल्लामा किताव छनोट गर्दा जिल्ला शिक्षा समन्वय ईकाई प्रमुखको स्वीकृतीमा मात्रै किताव छनोट गर्नुपर्ने शिक्षा नीयमावलीमा उल्लेख रहेको हुँदा बढी मूल्य भएको पाइए त्यो किताबलाई जिल्लामा पठन पाठनमा स्वीकृत दिनै नहुने भट्टराई बताउनु हुन्छ ।  

कुनै पनि प्रकाशन गृहले बढी मूल्यमा पुस्तक विक्री गरे हरेक स्थानीय तहका प्रमुखलाई कारबाही गर्ने अधिकार रहेको र स्थानीय तहले कारबाही नगरे जिल्ला शिक्षा ईकाई प्रमुखलाई कारबार्ही गर्ने अधिकार रहेको र त्यहाँ पनि कारबार्ही नभए शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकको अध्यक्षतामा केन्द्रीय अनुगमन समिति रहेको र यो समितिसम्म उजुरी आएमा प्रकाशन गृहको स्वीकृत रद्ध समेत हुने उहाले बताउनु भयो । त्यस्तै उहाँले कक्षा १ को पाठ्यक्रम परिर्वतन भएकाले परिवर्तित पाठ्यक्रम स्वीकृत हुन अझै १ हप्ता लाग्ने भएकाले कक्षा १ को पुस्तक कसैले बजारमा विक्री गरेमा खरिद नगर्न आग्रह गर्नु भयो । महानिर्देशकको नियुक्ति नहुँदा स्वीकृत ढिला भएको र अब नियुक्ति भइसकेकाले १ हप्ताभित्र टुंगो लाग्ने उहाँको भनाइ छ । 

५० जति प्रकाशन गृहका १२ सय जति पुस्तक स्वीकृतका लागि पाठ्यक्रम विकास केन्द्रमा पेश भएको र एक हप्ता भित्र बैठक बसी स्वीकृत पाठयक्रममात्रै बजारमा पठाइने उहाँको भनाइ छ । यता केही प्रकाशन गृहले कक्षा १ को पाठ्यक्रम स्वीकृत नहँुदै पुस्तक बजारमा पठाएको अभिभावकहरुले गुनासो गरेका छन् ।  

व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघले कुनै पनि पुस्तकमा स्टीकर टास्न र कालो पोतेर विक्री गर्न र  पुरोनो किताव बाँकी रहे नयाँ वर्षमा विक्री गर्दा पनि पुरानै मूल्यमा विक्री गर्नुपर्ने बताएको छ । 

नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघका अध्यक्ष मनहरी बस्यालले कुनै पनि प्रकाशन गृहले पुस्तकमा कालो पोतेर स्टीकर टाँसेर वा पुरानो वर्षको पुस्तक नयाँ शैक्षिक सत्रमा विक्री गर्दा मूल्य बढाएर बेच्न नपाइने गरी नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रसँग समन्वय भई शिक्षा मन्त्रालयमा निर्देशिका समेत तयार भएको बताउनु भयो ।

यस्तो हुँदाहुँदै पनि कुनै पनि प्रकाशन गृहले पुस्तकमा कालो पोतेर बेचेको पाइए त्यो गैरकानुनी काम हुने र त्यसलाई नेपाल सरकारले कारबाही गर्नुपर्ने र आफूहरुले पनि कारबाही गर्ने बताउनु भयो । 

नेपाल सरकारले पुस्तकको मूल्य २०६९ साल देखि तोक्न थालेको र ७१ साल देखि पुस्तकको मूल्य नबढेको उहाँले बताउनु भयो । यदी सरकारले नया शैक्षिक सत्रमा पुस्तकको मूल्य बढायो भनेपनि पुरानो शैक्षिक सत्रमा छापिएको पुस्तक पुरानै मूल्यमा विक्री गर्नुपर्ने नयाँ छापिएमा मात्रै मूल्य बढाउन पाइने उहाँ बताउनु हुन्छ । 

जिल्ला जिल्लामा विक्री हुने यस्ता पुस्तकको विषयमा गुनासाहरु आएमा प्रकाशन गृहसँगै सम्बन्धित पुस्तक व्यवसायी पनि जिम्मेवार हुने उहाँको भनाइ छ । आफूले विक्री गर्ने सामान कस्तो छ यसको गुणस्तर केहो, खराब छ भने समन्धित निकायमा खराबीको जानकारी नगराई विक्री गरेमा त्यसमा भएका कमी कमजोरीको जिम्मेवारी व्यवसायीले पनि लिनुपर्ने उहाँको भनाइ छ । 

चितवनका ठूला होलसेल भनिएका व्यवसायीहरुले अहिले धमाधम कालो पोतेका पुस्तक नयाँ मूल्यमा विक्री गरिरहेका छन् । अफिस होलसेल एण्ड बुक स्टोर्स, मास्के पुस्तक भण्डार, आर एस बुक्स, पुष्पाञ्जली पुस्तक पसल लगायतका ठूला व्यवसायीले यही कालो पोतेको पुस्तक विक्री गरीरहेका छन् ।  

ठूला व्यवसायीले यसरी पुस्तक विक्री गर्दा आफुहरुलाई ठूलो मार परेको साना व्यवसायीले बताए । आफूहरुकोमा अभिभावकहरु आएर पुस्तक किन्ने र किन कालो पोतेर नयाँ मूल्य लगाएको भनेर प्रस्न गरेपछि आफूहरु नाजवाफ भएर बस्नु परेको एक पुस्तक पसलेको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस