‘भारतीय सेनापतिले नेपालबारे गरेको टिप्पणी संवेदनहीन’ : राकेश सुद

नेपालका लागि भारतीय पूर्व राजदुत राकेश सुद भन्छन्,–‘ओलीको सत्ताको प्राण भर्ने काम राजनाथ सिंहले गरे’

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ०८ : ४९
‘भारतीय सेनापतिले नेपालबारे गरेको टिप्पणी संवेदनहीन’ : राकेश सुद

काठमाडौं । नेपालले भारतले अतिक्रमण गरेको आफ्नो भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गरेपछि भारतीय सेनापति मनोज नरवानेले गरेको टिप्पणीको भारतभित्रै विरोध शुरु भएको छ । भारतीय सेनापतिले नेपालको कदमलाई अन्य कसैको इसारामा चलेको भनी गैहजिम्मेवार अभिब्यक्ति दिएका थिए । त्यसयता भारतीय मिडियाहरुले नेपालले स्वतन्त्र रुपमा चालेको आफनो कदमलाई चीनसँग जोड्दै निक्कै प्रचारबाजीमा लागेको छ ।

भारतका प्रध्यापक एसडी मुनि लगायतले नेपाल मामिलामा मोदी रणनीति असफल भएको टिप्पणी गरिरहदा नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले पनि आफ्नो धारणा एक भारतीय पत्रिकामार्फत सार्वजनिक गरेका छन् । उनले भारतीय पत्रिका ‘द हिन्दू’ को अंग्रेजी संस्करणमा ‘फर ए रिसेट इन इण्डिया नेपाल रिलेसन्स’ शीर्षकमा शुक्रबारको अंकमा एउटा लेख लेख्दै भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन् ।  यतिमात्रै होइन सुदले नेपाल भारत सम्बन्ध निक्कै नराम्रो बनेको भन्दै रक्षामन्त्री राजनाथ सिंहले कालापानी क्षेत्रमा अहिले गरेको सडक उद्घाटनको पनि आलोचना गरेका छन् ।

उनले भारतीय रक्षामन्त्री सिंहले लिपुलेकको बाटो भर्चुअल माध्यमबाट उद्घाटन गरेर कमजोर भएको केपी ओलीको सत्तालाई प्राण भरिदिएको टिप्प्णी पनि गरेका छन् । सत्तारुढ दल नेकपाभित्रै निक्कै कमजोर बन्दै गएका प्रधानमन्त्री ओलीको सत्तालाई प्राण भरिदिने काम राजनाथ सिंहको उक्त कदमले मिलेको पूर्व राजदुत सिंहको टिप्पणी छ ।

उनले लेखेका छन, –‘भारतीय सेनाका प्रमुख जनरल मनोज नरवानेले मे १५ मा गरेको नेपालले अरु कसैको इशारामा मुद्धा उठाएको हुनसक्छ भन्ने टिप्पणी संबेदनहीन थियो किनकि भारतको सेना प्रमुख नेपालको सेनाको पनि मानार्थ जनरल हो ।’ उनले सन् २०२० को अप्रिलसम्म आइपुग्दा केपी ओलीको घरेलु राजनीतिक अवस्था कमजोर भएको र कोभिड १९ को ह्याण्डलिंगमा पनि अयोग्य भएकाले उनको शासनविरुद्ध निराशा बढेको उल्लेख गरेका छन् ।

उनले यो अवस्थामा पार्टीभित्रबाट एक व्यक्ति एक पदको कुरा उठी एउटा पद छोड्नै पर्ने अवस्थामा पुगेको वेला रक्षामन्त्रीले अनुपयुक्त समयमा सडक उदघाटन गरेर ओलीको सत्ताको प्राण भर्ने काम गरेको उल्लेख गरेका छन् । लेखमा अघिकांश ठाउँमा ओलीविरुद्ध आक्रोश व्यक्त गरिएको छ ।

सुदले आफ्नो लेखमा राजा महेन्द्रले चीनसँग गरेको सीमा सम्झौताको प्रसंग पनि उल्लेख गरेका छन् र विगत १७० बर्षदेखि नेपालको नभएको भूमि अहिलेको नक्सामा पारेर नेपालले आफ्नो भएको दावी गरेको भन्दै ओलीबिरुद्ध आक्रोश समेत पोखेका छन् ।
 

प्रतिक्रिया दिनुहोस