अस्ताए कवि एवं गीतकार रत्नशमशेर थापा, गीत–संगीत क्षेत्रमा अमर

पत्रपत्रिकाबाट

शुक्रबार, १६ जेठ २०७७, ०८ : १३
अस्ताए कवि एवं गीतकार रत्नशमशेर थापा, गीत–संगीत क्षेत्रमा अमर

काठमाडौँ । म मस्तराम ! म अलपत्रे ! म भुइँफुट्टा ! म भाग्यवादी ! म एकलकाँटे ! आफ्नै मगनमस्त शैली र बोलीमा उच्चाट स्वर लिएर साहित्यिक सभा–सम्मेलनमा आइरहने कवि एवं गीतकार रत्नशमशेर थापा आफूलाई चिनाउनुपर्दा पनि यस्तै निस्फिक्री खालको परिचय दिन्थे । नेपाली गीत–संगीत जगतमा रत्नशमशेर थापा भन्नेबित्तिकै जनजिब्रोमा झुन्डिनेदेखि क्वायर र क्यान्टाटाका प्रयोगधर्मी लेखनमा समेत छाएका यिनै गीतकारको बिहीबार दिउँसो निधन भएको छ ।

ढाडको नसा र बाथसम्बन्धी रोगबाट केही वर्षयता ग्रस्त रहेका थापालाई ज्वरो बढ्दै गएपछि गत मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ज्वरोसहित श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंका गरेर बुधबारबाट विशेष निगरानीमा राखिएका ८१ वर्षीय थापाको आइसोलेसन कक्षमै निधन भएको थियो । कोरोना परीक्षणका लागि थापाको स्वाब टेकु जनस्वास्थ्य प्रयोगशाला लगिएकामा रिपोर्ट आइनसकेका कारण थापाको बिहीबार अन्त्येष्टि हुन सकेन । थापाका जेठा छोरा रूपेन्द्रशमशेरका अनुसार तीन महिनाअघि ‘स्पाइनल कर्ड’ को अप्रेसन गरेपछि रत्नको स्वास्थ्यमा जटिलता थपिंदै गएको थियो ।

काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मे–हुर्केर पनि सधैंभर ‘कवि–गीतकार’ मात्रैको चिनारी राख्ने रत्न सरकारी वा अन्यत्र नियमित जागिरे कहिल्यै बनेनन् । लेखनका सुरुवाती दिनमा आरएस ‘मधुर’ नाममा आफ्ना रचना छाप्ने उनका गीतका कारण नारायण गोपाल, प्रेमध्वज प्रधानहरूको नामरकाम पनि लोकप्रिय बनेको थियो । रत्नले लेखेको ‘घुम्तीमा नआऊ है’, ‘ए कान्छा ठट्टैमा’, ‘गोरेटो त्यो गाउँको’, ‘स्वर्गकी रानी मायाकी खानी’ जस्ता गीतहरू रेडियो नेपालको फर्माइसमा सबैभन्दा बढी बजेका गीत हुन् । ‘ए कान्छा गीतको फर्माइस नाममात्रै १५ मिनेटसम्म चलिरहन्थ्यो, म गीत लेख्ने व्यक्ति आफैं अचम्ममा परेर दरभंगा, बिहारदेखिका फर्माइस नामहरू सुनिरहेको हुन्थें,’ रत्न यो प्रसंग सधैंजसो सुनाइरहेका हुन्थे ।

‘२०१९ सालमा हामी त्रिचन्द्र क्याम्पसमा बीए कक्षाका सहपाठी थियौं, त्यही बेला रत्नशमशेर गीत–संगीतका कारण नामी भइसक्नुभएको थियो,’ उपन्यासकार ध्रुवचन्द्र गौतम सम्झन्छन्, ‘उहाँको गीत, मुक्तक भन्ने शैलीका कारण हामीमाझ पनि उत्तिकै फ्यान बढेका थिए ।’ पछि पञ्चायत शासनसँगको विद्रोहको संकेतमा सुरु भएको ‘अमलेख आन्दोलन’ मा ध्रुवचन्द्रसहित रत्नशमशेर, मोहन कोइराला, भुवन ढुंगाना, पुरुषोत्तम बस्नेत, द्वारिका श्रेष्ठसहितका स्रष्टाहरू जोडिएका थिए । त्यसबेला निस्केको ‘सिउँडी’ साहित्यिक प्रकाशनमा रत्नशमशेरका निकै गीतरकविता प्रकाशित रहेको गौतमले जानकारी दिए ।

समालोचक अभि सुवेदीले लेखनमा काव्यचेतना र गीति भावनालाई एकैसाथ जोडेर लेख्न सक्ने कविका रूपमा रत्नशमशेरलाई लिएका छन् । ‘संगीतकारले साहित्य र साहित्यकारले संगीत बुझेको अवस्था आइदियो भने गजबै हुन्छ । नेपाली गीत–संगीतको इतिहासमा अम्बर गुरुङ र रत्नशमशेर थापा यही विशेषले भरिएका परिपूरक हुन्,’ सुवेदीले कान्तिपुरसँग भने, ‘अम्बरले प्रयोग गर्नुभएको ‘संगगान’ (क्वायर) यसैको उदाहरण हो ।’

२०१४ सालसम्म लेखनभन्दा बढी गायनमा रमाइरहेका ‘तबलावादक रत्नशमशेर’ ले त्यसबेला एउटा गायन प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक विजेता बनेका थिए । ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा’ बोलको त्यो गीतमा प्रथम बनेपछि भने उनले गाउने काम बिसाए, ढुक्कै लेखनतिर लागे । कान्तिपुर दैनिकमा खबर छ। 

प्रतिक्रिया दिनुहोस