रुकुम चौरजहारी घटना : नदीमा थप एक जनाको शव फेला

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १५ : ५३
रुकुम चौरजहारी घटना : नदीमा थप एक जनाको शव फेला

फाइल फोटो

काठमाडौं । जाजरकोटको भेरी नदीमा वेपत्ता रहेका दुई जनामध्ये बिहीबार १ जनाको शव फेला परेको छ । यो सँगै रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए ।

ती पाँचमध्ये आज बिहीबारसम्म चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अझै वेपत्ता रहेका एक जनाको खोजी कार्य जारी छ ।

केटी भगाउन भनी जाजरकोटबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए । सोमबार चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम सुनार र अर्का एक जना गणेश बुढाको शव भेटिएको थियो । यस्तै बुधबार बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव पनि कुदु गाउँ नजिकै भेरी नदीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस