काठमाडौं । तीन युवाको ज्यान गएको र तीन युवा अझै बेपत्ता भएको चौरजहारी घटनाका २० जना आरोपितविरुद्ध किटानी जाहेरी परेको छ । जाजरकोका प्रहरीले २० जनालाई विपक्ष बनाउँदै कर्तव्य ज्यानको कसुरमा जाहेरी आएको जानकारी दिएको छ ।
जाहेरी परेकामध्ये १२ जना जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमको नियन्त्रणमा छन्। घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
बाँकी ८ जनाको खोजी हुने काम भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनामाथि कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पश्चिम रुकुमबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गएिको जानकारी दिए।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लोको जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेको आरोप लागेको छ। कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ।
ज्यान बचाउन नदीमा हामफालेका मध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको शव भेरी नदिमा भेटिएको छ। भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन्।
घटनामा परेर भेरी नगरपालिकाका मदन शाही, सरोज भँडेल, सुदीप खड्का, आशिष विक लगायत १३ घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस