९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

रासस

बुधबार, १४ जेठ २०७७, १२ : १९
९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

– सञ्चिता घिमिरे

काठमाडौँ । नेपालमा ९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा पाँच लाख आठ हजार २२० जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ ।

आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ । सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २१ प्रतिशत नागरिकमा पहुँच पुगेको छ । यो अवधिमा २१ शहरी तथा अर्धशहरी खानेपानी आयोजना सम्पन्न भएका छन् । यसबाट दुई लाख ६२ हजार ६८१ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवा पुगेको छ । सबै नागरिकलाई यस किसिमको खानेपानी पु¥याउनु अझै चुनौतीका रूपमा रहेको सर्वेक्षणले देखाएको छ ।

विसं २०७२ को भूकम्पका कारण एक हजार ३०० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेकामा गत फागुनसम्ममा ५०८ आयोजनाको पुनःनिर्माण र पुनःस्थापना सम्पन्न भएको छ । यसबाट दुई लाख १३ हजार ९४२ जनसङ्ख्या लाभान्वित भएको पनि सर्वेक्षणले देखाएको छ । फागुनसम्ममा नै वाग्मती, गण्डकी र प्रदेश नं ५ मा ९२ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ । त्यस्तै कणार्ली प्रदेशमा ८७ प्रतिशतमा मात्रै आधारभूत खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा आधारभूत खानेपानीको पहुँच पुग्ने जनसङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा बढी र कणार्ली प्रदेशमा सबैभन्दा कम थियो । गत असार मसान्तसम्ममा गण्डकी प्रदेशमा ९० दशमलव नौ प्रतिशतमा र कणार्ली देशमा ८७ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको थियो ।

सुक्खा र पहाडी बस्तीमा खानेपानी सुविधा उपलब्ध गराउन एक हजार मिटरमाथिसम्म पानी पम्प गर्ने दुई ‘मल्टिस्टेज लिफ्ट’ प्रणालीका आयोजना सम्पन्न भएका छन् । यी आयोजनबाट १८ हजार ५६१ जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको विस्तार भएको छ । यो अवधिमा नयाँ खानेपानी आयोजना ६४ र सेवा पुनःस्थापना भएका १३ आयोजना सम्पन्न हुँदा यसबाट ५७ हजार २३७ जनसङ्ख्या लाभान्वित भएका छन् । उच्च र मध्यमस्तरका १० आयोजना सम्पन्न भएको छ । यसले गर्दा एक लाख ७० हजार ४२४ जनसङ्ख्या लाभान्वित भएका छन् ।

गत फागुनसम्ममा नै काठमाडौँ उपत्यकाभित्र १५ दशमलव ६१ थोक वितरण प्रणाली र १५५ किमी वितरण प्रणालीको काम सम्पन्न भएको छ । थोक वितरण प्रणाली कूल ७७ किमी र खानेपानी वितरण प्रणाली एक हजार १५० किमी रहेको छ । आब २०६६/६७ मा नेपालमा आधारभूत खानेपानीको पहुँच ८० दशमलव चार प्रतिशत र आधारभूत सरसफाइमा पहुँच ४६ दशमलव एक प्रतिशत जनसङ्ख्यामा थियो । त्यसयताका वर्षहरुमा खानेपानी र सरसफाइ दुवैमा पहुँच विस्तार भइरहेको छ । विसं २०७२/७३ मा आधारभूत खानेपानीको पहुँच ८७ प्रतिशतमा र आधारभूत सरसफाइको पहुँच ८७ दशमलव एक प्रतिशतमा पुगेको थियो । चालू आवमा आइपुग्दा आधारभूत सरसफाइ शतप्रतिशत र आधारभूत खानेपानीको पहुँच ९० प्रतिशतमा पुगेको हो ।

गुह्ेश्वरीस्थित फोहर पानी प्रशोधन केन्द्रको स्तरोन्नतिको काम ९२ दशमलव छ प्रतिशत सम्पन्न भएको छ । गोकर्णबाट गुह्ेश्वरीसम्म वाग्मती नदीमा मिसिएको फोहर पानी प्रशोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको सो केन्द्र आंशिकरूपमा सञ्चालनमा थियो । देशलाई आधारभूत सरसफाइको पहुँच विस्तार गर्दै गत असोज १३ मा मुलुक खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो ।

मेलम्चीको भौतिक प्रगति ९४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९४ दशमलव एक प्रतिशत पुगेको छ । मेलम्ची दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट पथान्तरण गरी मेलम्चीमा मिसाउने गरी आयोजनाको विस्तृत इञ्जीनियरिङ डिजाइनको काम भइरहेको छ । यी खोलाको पानीसमेत गरी दैनिक ३४ करोड लिटर पानी थप हुनेछ ।  (रासस)