राजधानी छिर्ने सबै नाका सिल, अत्यावश्यक भए आरडिटी नेगेटिभ रिपोर्ट ल्याउनूपर्ने

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०७ : १४
राजधानी छिर्ने सबै नाका सिल, अत्यावश्यक भए आरडिटी नेगेटिभ रिपोर्ट ल्याउनूपर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बिहीबारदेखि सिल गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश अनुमति नदिने व्यवस्था गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बैठकमा मेयरहरूले उपत्यकालाई तत्कालै सिल गर्न माग गरेका थिए । उनीहरूको माग अनुसार लकडाउन अवधिभर सबै नाकामा जाँच र निगरानीमा थप कडाइ गर्न गृहले दिर्नेशन दिएको हो । अत्यावश्यक कामबाहेक लुकिछिपी प्रवेश गर्नेहरूलाई पनि रोक्न निर्देशन गरिएको छ । 

उपत्यका प्रवेश गर्नैपर्ने अत्यावश्यक काम भएका व्यक्तिले आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा गर्नुपर्ने गृहले सूचित गरेको छ । यसअघि लकडाउनमा पनि लुकिछिपी उपत्यका प्रवेश गर्नेहरूका कारण कोरोना फैलिएको भन्दै गृहले उनीहरूको खोजी गरी लगत संकलन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।

काठमाडौं आउन चाहनेलाई सम्बन्धित जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने व्यवस्था गर्न पनि सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । सबै स्थानीय तह होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउने गरि लगत संकलन गर्न सुझाएको छ । त्यसमा बस्ने व्यक्तिबाट नै क्वारेन्टाइन खर्च भुक्तानी गर्नेगरी व्यवस्थापनको कार्य अघि बढाउन पनि आग्रह गरेको छ । नयाँपत्रीकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस