२४ घण्टामा कोरोना भाइरसको ३ हजार ४९ वटा नमुना परीक्षण

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १६ : ४५

काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसको ३ हजार ४९ वटा नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३ सय ५७ पिसिआर र ६ ससय ९२ वटा आरडिटी परीक्षण भएका छन् । 

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७ र बागमती प्रद्येशमा ९ हजार ३ सय ६३ वटा आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१, कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बुधबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका ३६ वर्षिय पुरुष र कपिलवस्तुका २२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । जसमा १ सय ७६ जना पुरुष र ४३ महिला रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर २ प्रभावित भएको छ । त्यहाँ ९६ जनामा संक्रमण देखिएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ७२ र प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ९, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको छैन् ।

देशभरीका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ५९,  प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४, बागमती प्रदेशमा १ सय १ र गण्डकी प्रदेशमा २ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

अहिले देशका विभिन्न अस्पलालमा २ सय ४५ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा ९८, बागमती प्रदेशमा २५ (उपत्यकामा ६ समेत गरी) र प्रदेश नम्बर ५ मा १ सय १ जना आइसोलेसनमा रहेका छन् ।

बुधबार बुटवलका २५ वर्षिय पुरुष ११ औं दिन र चितवनबाट ६३ वर्षिया महिला २५ औ दिनमा डिस्चार्ज भएका छन् । यो सँगै उपचारपछि निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३५ पुगेको छ ।

सरकारले स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि व्यक्तिगत सुरक्षामा ध्यान दिएर उपचारमा संलग्न हुन आग्रह गरेको हो ।