यसकारण सहमत भए स्थायी कमिटीको बैठक बोलाउन प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १६ : ५३
यसकारण सहमत भए स्थायी कमिटीको बैठक बोलाउन प्रधानमन्त्री ओली

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा तत्काल स्थायी कमिटीको बैठक राख्ने पक्षमा थिएनन् । 

२० जना स्थायी कमिटीको सदस्यले बैठक राख्न अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्ताक्षर नै बुझाएका थिए । तर पनि प्रधानमन्त्री ओली यो समयमा स्थायी कमिटीको बैठक बोलाउन चाहेका थिएनन् । 

जेठ १५ मा जसरी पनि बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थितिको कारण देखाउँदै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक तत्काल नगराउने अडानमा थिए । तर त्यस्तो केमा चित्त बुझेर पछिल्लो समय प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बोलाउन सहमत भए ? 

नेकपाका एक स्थायी समितिका नेता भन्छन्, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले नै उहाँलाई बैठक बोलाउन सहमत गरेका हुन् । दुबैले बैठकको जिम्मा लिने भनेपछि प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएका हुन् ।’

स्थायी कमिटीको बैठक राटार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा नेताहरुमा नेताहरुबीच चर्काचर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडे ।

ओलीसहित बहुमत सदस्य बैठकको विपक्षमा उभिएकाले स्थायी कमिटी बैठक स्थगित भयो । त्यसयता प्रचण्डले पटक पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको छ ।

स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।

त्यसअनुसार भोलिको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको महासचिव विष्णु पौडेलले बताए । महासचिव पौडेलका अनुसार दुई एजेण्डामा छलफल गरेर बैठक भोलि नै सकिनेछ । 

प्रतिक्रिया दिनुहोस