दूध बिक्रीमा समस्या

रासस

सोमबार, २९ बैशाख २०७७, १८ : ५२
दूध बिक्रीमा समस्या

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा टाइमकार्ड लागु गरेर सवारी साधन सञ्चालन गर्दा दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा समस्या भएको छ । सरकारको समेत स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) मा टाइमकार्डका कारण सोमबार मात्र रु २० लाख बराबरको दुग्धजन्य पदार्थको खपतमा कमी आएको जनाइएको छ ।

दुध बोकेका गाडीमा आइतबार कुनै रोकावट नभए पनि आज समस्या भएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । “हिजो पहिलो दिन भनेर छुट दिइएको रहेछ, आज बिहान १० बजेदेखि सञ्चालनमा अवरोध आयो,” उहाँले भन्नुभयो, “गाडीहरु गुड्न नपाउँदा भाटभटेनी, सेल्स बेरीलगायत स्टोर्सका गाडीहरु आउन नपाउँदा दही, पनीर, चिज र मिठाइहरुको खपत भएन, यसको प्रत्यक्ष असर दूग्ध पदार्थ बिक्रीवितरण आयोजनामा असर देखिएको छ ।” अन्य दिन दैनिक रु २३ लाख बराबरको बिक्री हुँदै आएको आयोजनामा आज रु दुई लाख बराबरको मात्र दुग्ध पदार्थको बिक्री भएको छ ।

२९ प्रतिशतले कमी
लकडाउनका कारण दूध तथा दुग्धजन्य वस्तुको खपत २९ प्रतिशतले घटेको डिडिसीले जनाएको छ । लकडाउनपूर्व दैनिक ९० हजार लिटर दूध खपत हुँदै आएकामा हाल ७५ हजार लिटर मात्र खपत हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार किसानबाट नियमित रुपमा दूध संकलन गरिए तापनि काठमाडौँ उपत्यकामा मात्र २० प्रतिशतले खपतमा कमी आएको छ ।
“हामीले दूध बिक्री गरेर किसानलाइ भुक्तानी दिँदै आएका थियौँ, लकडाउनका कारण दूध खपतमा कमी आउँदा समयमा किसानलाई भुक्तानीको समस्या भएको छ”, उहाँले भन्नुभयो, “दूध खपत कम भएपछि उत्पादन गरिएको पाउडर दूध र बटरको बिक्री भएको छैन, हामीसँग भएका कोल्ड स्टोर भरी हुँदा बटर राख्नसमेत समस्या भएको छ ।”उहाँका अनुसार काठमाडौँ र हेटौँडामा भाडामा लिएर कोल्ड स्टोर्स सञ्चालन गरिएको छ । डिडिसीले किसानबाट दैनिक एक लाख ५० हजारदेखि एक लाख ६० हजार लिटर दूध संकलन गर्दै आएको छ ।

“हामीले करीब ६ महिनासम्म किसानबाट एक लिटर दूध नलिए पनि पुग्ने पर्याप्त मौज्दात छ”, उहाँले भन्नुभयो, “पोखरा र विराटनगरमा रहेको प्लान्टबाट दैनिक ६० हजार लिटर पाउडर दूध उत्पादन गरिएको छ ।”उहाँका अुनसार रु ९५ करोड बराबरको मौज्दात सामग्री  छ । तिनमा ८४० मेट्रिक टन धुलो दूध, छ ६६० मेट्रिक टन बटर र २० क्विन्टल याक चिज मौज्दात  छ । डिडिसीले ४० जिल्लाका दुई लाख किसान र ८५० दूग्ध सहकारी संस्थाबाट दूध संकलन गर्दै आएको छ । लकडाउनपूर्व काठमाडौँ उपत्यकामा निजी क्षेत्रको ६०  र डिडिसीको ४० प्रतिशत दूध खपत हुँदै आएको थियो ।

टाइमकार्ड हटाउन माग
निजी क्षेत्रका दूग्ध व्यवसायीले दुग्ध पदार्थ बिक्रीवितरण गर्ने सवारी साधनमा टाइमकार्ड लागू नगर्न आग्रह गरेका छन् । निजी क्षेत्रका दुग्ध व्यवसायीको संस्था नेपाल डेरी एशोसिएसनले आइतबार एक विज्ञप्ति जारी गरी टाइमकार्ड लागु नगर्न सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने छ भन्दै व्यवसायीले पानी र औषधि जस्तै दुग्ध पदार्थ बिक्रीको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।