नेपालको दीर्घरोग : परनिर्भरता

वीरेन्द्रमणि पौडेल

सोमबार, २९ बैशाख २०७७, १७ : १५
नेपालको दीर्घरोग : परनिर्भरता

– वीरेन्द्रमणि पौडेल

भौतिक दुनियाँमा चुर्लुम्मै डुबेका विश्व मानवमध्ये कोही गरीब छन्, कोही धनी । प्रकृतिले जन्माएका मानवबस्तीमा यस्तोचाहीँ किन हुन्छ कुन्नि ? थाहा छैन तर संसारमा धनीहरुको संख्या कम र गरीबहरुको संख्या बाक्लै हुन्छ । यस्तो पनि होला कि प्रयोगात्मक हिसाबले हेर्दा पनि कसैको क्षमता ज्यादा र कसैको कम हुने भएकैले बराबर धन बाँडिदिने हो भने पनि कसैले धेरै धन जम्मा गर्छन् कसैले कम । 

पाँच ओटा कुखुराको भालेलाई दुईदुई ओटा भागमा पर्ने हिसाबले मकैका गेडा छरिदिने हो भने कुनै भालेले चारओटासम्म टपाटप टिप्छ कसैले एउटा टिप्छ कुनैले दुईओटा टिप्छ त कसैको भागमा एउटा पनि गेडो पर्दैन, अर्थात् कुनै भालेले एउटा गेडो पनि टिप्न सक्दैन । कुनै भाले फुर्तिलो हुन्छ कुनै लोसे । कुनै ठीकै खालको हुन्छ । यस्तो अवस्थामा दुईदुई ओटा भागमा पर्ने हिसाबले मकैको गेडा भालेहरुको माझमा छर्दा पनि बराबर टिप्न सक्दैनन् । यसैलाई प्रकृतिको नियम भनिएको हुनुपर्छ । फेरि प्रकृतिको नियम, न्याय वा विशेषतालाई गहिरिएर बुझ्ने प्रयास गर्ने हो भने अचम्म लाग्छ । 

एउटा अर्को उदाहरण गहुँ खेतीलाई लिन सकिन्छ । एकैदिन एक बिगाहा जग्गामा गहुँ छरिएको छ । मल पनि बराबरै पुग्ने हिसाबले छरिएको छ । पानी पनि उपलब्ध गराइएको छ तर अचम्म कहाँनेर हुन्छ भने कुनै गहुँको विरुवा एकबित्ता अग्लो हुँदा अर्को विरुवा दुई इन्च मात्रै अग्लो हुन्छ । यस्तो किन हुन्छ ? हो, कसैले बिउको क्षमतामा प्रश्न खडा गर्न सक्छन् तर प्रकृतिको रहस्य यही नै हो भन्न सक्ने खाँटी कुरा भने पत्ता लगाउन कठिनै हुन्छ । 
अब मान्छेको कुरा पनि त्यही हो । तीनजना मान्छेलाई पाँचपाँच हजार रुपैया मन लागेको कुुरामा खर्च गर्नु भन्ने आदेशका साथ बजार पठाउने हो भने कसैले पाँचै हजार खर्च गरेर सिध्याउँछ, कसैले आधा रकम खर्च गर्छ र कसैले उस्तै परे खरिद गर्ने चिजै देखिन भन्दै पूरै पैसा जस्ताको त्यस्तै फिर्ता ल्याउँछ । यसरी कसैले ज्यादा खर्च गर्ने कसैले कम त कसैले खर्चै नगर्ने हुँदा पनि कसैसँग धन रहने र कसैसँग पूरै सकिने हुन जान्छ । अर्कोतिर नाफा रकमलाई ठीक ढंगले बचत गर्ने र ठीक ठाउँमा ठीक तरिकाले लगानी गर्नेहरुसँग धन जम्मा हुन जान्छ र त्यो व्यक्ति धनी कहलिन्छ । अब फेरि जसले उत्पादनलाई ज्यादा महत्व दिन्छ, कालान्तरमा उही धनीमा गनिन्छ । यो नियम व्यक्तिमा मात्रै होइन देशको हकमा पनि लागू हुन्छ । उत्पादन गरेर सामान बिक्री गर्नेहरुले निश्चित रुपमा उत्पादनमा नाफा जोडेर नै बिक्री गर्छन् । त्यो नाफाको मात्रा थुप्रिँदै जाँदा उत्पादन गरेर बेच्नेहरु धनी हुन्छन् । 

नेपालको उत्पादन र बिक्रीको हिसाब गर्दा यो जानकारी मिल्छ कि नेपाल धनी हो वा गरीब । नेपालले आफ्नो देशमा उत्पादन गरेर विदेश निर्यात गर्ने सामानको रुपमा अलैंची, यार्सागुम्बा, अदुवा वनस्पति घ्यू लगायतका वस्तुमात्रै रहेको छ भने नेपालले आफूलाई चाहिने सबै वस्तु विदेशबाट आयत गरिरहेको छ । आयात निर्यातको हिसाब हेर्दा आयात ९७ प्रतिशत र निर्यात ३ प्रतिशत रहेको देखिन्छ । संसारका सबै मान्छेलाई थाहा छ यति उच्च ब्यापार घाटाले देश चल्न सक्दैन । कुनै पनि हालतमा चल्न सक्दैन र पनि नेपाल चलिरहेको छ किन ? देश चल्ने कारणको रुपमा रेमिट्यान्स रहेको सत्य हो । नेपाल उद्योग कलकारखाना सञ्चालन गरेर वा कृषिलाई पहिलो आम्दानीको श्रोत मानेर उत्पादन बढाउनतर्फ कहिल्यै लागेन । देशका होनहार युवायुवतीलाई विदेशमा कामदारको रुपमा पठायो । भारतलाई छाडेर संसारका अन्य मुलुकमा झण्डै ४२ लाख नेपाली युवायुवती विदेशिए । तिनै विदेशिएका नेपालीले रगत पसिना बगाएर नेपाल पठाएका रकमबाट देशको बजेट बनाउने काम भयो । रेमिट्यान्स पहिलो आधार रेमिट्यान्स, दोश्रोमा पर्यटन व्यवसाय र तेश्रोमा आन्तरिक आयबाट धानिएको नेपालको अर्थतन्त्र कुनैबेला यी तीन आधार भत्किएको खण्डमा के हुनसक्छ भनी कहिल्यै नसोच्दा आज देश गम्भीर आर्थिक संकटमा फस्न लागेको संकेत देखिएको छ । 

देशका युवायुवतीलाई देशभित्रै काममा लगाउनु पथ्र्यो वा विदेशीलाई नेपालमा लगानी गर्न लगाएर आफ्ना नागरिकलाई विदेशीले लगानी गर्ने उद्योग कलकारखानामा रोजगारी दिनुपथ्र्यो । तर अर्काले रोजगारी दिए खाना र दाम पाइने नभए भोकै बस्न पर्ने खालको परनिर्भरतालाई स्विकारियो । कुनै बेला आज रोजगारी दिइरहेका देशहरु कुनै खालको संकटमा पर्न सक्लान्, नेपाली युवायुवतीलाई रोजगारी दिन नसक्लान्, त्यस्तो अवस्थामा नेपालको हालत के हुन्छ भन्नेतर्फ कहिल्यै ध्यान दिइन । परिणाम आज देखिएको छ कि कोरोना भाइरसका कारण आज विश्वका धनी र सक्षम कहलिएका देशहरु, जसले नेपालीहरुलाई रोजगारी दिइरहेको थिए, उनीहरु कसरी आफ्ना नागरिकको ज्यान जोगाउने भन्ने धुनमा छन् । विश्वबाट नेपाली रोजगारी करिब करिब समाप्त हुन लागेको छ । अब रेमिट्यान्स आकाशको फल हुने अवस्थामा पुगिसकेको छ । विदेशीहरु नेपालको प्राकृतिक सुन्दरता हेर्न आएर तिनले बुझाउने पैसालाई हामीले पर्यटन ब्यबसाय भनेका हौं । यतिबेला शायद केही राजदूतलाई छाडेर संसारका सबै विदेशी नागरिकहरु आ–आफ्ना देश फर्किसकेका छन् । अब फेरि पर्यटन व्यबसाय शुरु मात्रै हुन पनि संसारबाट कोरोना भाइरस पूरै नियन्त्रण हुनुपर्छ । त्यसका लागि टालटुले ओखतीले काम गर्नेवाला छैन । 

कोरोना नियन्त्रणको लागि खोप पत्ता लगाउन जरुरी छ । खोप पत्ता लगाउन कम्तीमा एक बर्ष लाग्ने बताइएको छ । नेपालको पर्यटन ब्यबसाय ठीक तरिकाले तंग्रिन अहिले रोजगारी दिइरहेका देशहरु पहिले कोरोनामुक्त हुनुपर्छ । ती देशहरुमा आर्थिक अवस्था मजबुत हुनुपर्छ । अहिल्यै अमेरिका र युरोपका कयौं देशहरु आर्थिक रुपले धराशयी हुन लागेको खबर प्राप्त भएका छन् । मध्यपूर्वका खाडी मुलुकहरु कुबेत, इराक, इरान, जोर्डन, टर्की, साउदी अरेबिया, मलेसिया, कतार, दुबई लगायतका देशहरु, जसले लाखौं नेपालीलाई रोजगारी दिएका छन्, ती देशहरु चाँडो तंग्रिने सम्भावना अझै कम देखिन्छ । यसरी एकैपटक रेमिट्यान्स र पर्यटन व्यबसाय ध्वस्त भएपछि नेपाल धानिने आर्थिक आम्दानी नहुने निश्चित हुन्छ । अब देशभित्रको आन्तरिक कर र राजश्वबाट ठूलो रकम ढुकुटीमा जम्मा हुँदैन । 

कोरोना प्रभाव नेपाली जनताको लागि जीवनमरणको सवाल बन्न पुगेको छ । यसकै कारण देश ठप्प छ । झण्डै दुई महिना त सबै आर्थिक गतिविधि र आवतजावत पूरै बन्द भएका कारण कर र राजश्व उठ्ला भन्नु त कता हो कता, उद्योगी, ब्यबसायी र निर्माण ब्यबसायीहरुले बैंक ब्याज छुट र कर राजश्व छुट माग्न थालेका छन् । अब कोरोना प्रभाव घटेर देश पहिलाकै अवस्थामा फर्केको खण्डमा समेत कर र राजश्व उठ्न केही समय लाग्ने देखिन्छ । अर्कोतर्फ कोरोना भाइरसको उपस्थिति खासगरी भारत र नेपालमा कहिलेसम्म रहन्छ ? त्यसको अनुमान कसैले गर्न सक्ने अवस्था छैन । 

यी सबै कारणहरुको एउटा पोकोले यही बताउँछ कि निकै लामो समयदेखिको अरुले उत्पादन गर्ने र नेपालले उपभोग गर्ने अर्थात् पूरै परनिर्भरताका कारण आज देश लंगडो हुने अवस्थामा आइपुगेको छ । देशलाई सम्भावित लंगडो हुनबाट बचाउन अरु कुनै उपाय देखिँदैन, देखिन्छ त सिर्फ यही उपाय देखिन्छ, त्यो उपाय भनेको आजैदेखि कृषि उत्पादन बढाउनतिर लाग्ने, पेट्रोल डिजेल खपत कम गर्न विदेशबाट गाडी आयात घटाउने, पेट्रोल डिजेल प्रयोग हुने निजी सवारी साधनमा तुरुन्तै केही बर्षका लागि रोक लगाउने नै हो । एकातिर उत्पादनमार्फत् आम्दानी बढाउने र अर्कोतर्फ फोकटको खर्च घटाउने हो । यदि यो उपाय यो देशले लागू गर्छ भने ढिलोचाँडो परनिर्भरताबाट मुक्त होला, फेरि तंग्रिएला होइन भने कुन्नि के होला ? सजिलैसँग अनुमान गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस