कोरोनाका कारण विदेशमा ७८ नेपालीले गुमाए ज्यान, किन बचाउन सकिएन नेपाली ?

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०७७, १७ : ०७
कोरोनाका कारण विदेशमा ७८ नेपालीले गुमाए ज्यान, किन बचाउन सकिएन नेपाली ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) जोखिम बढ्दो छ । नेपालमा भन्दा विदेशमा रहेका नेपालीहरु असुरक्षित छन् । 

विदेशमा उनीहरुलाई सबै विषयमा अनुकुल हुँदैन । एक  त  आफ्नै मानिस सुरक्षित हुन गाह्रो भइरहेको बेला विदेशी नागरिकका लागि हेरचाह पनि कम हुन सक्छ  त्यस कारणले विदेशमा कोरोना संक्रमणका कारण  शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ  ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यसरी नै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।  समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको जानकारी संघले दिएको छ ।  

साथ साथै संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले बताए । 

संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ५ सय ८१ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।  

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी  २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।  

स्वास्थ्य समितिका अनुसार  कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार,  बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता फिनल्याण्ड, र स्वीडेन (१ मृत्यु) मा नेपालीहरुमा नयाँ संक्रमण  देखिएको छ ।

यसै बीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवकहरु राहत वितरणमा सकृय रहेका छन् ।

३५ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधी आदी) प्राप्त गरेको संघले जनाएको छ ।एनआरएनएले बिभिन्न देशमा संचालित २४ सैं घण्टा हटलाईन सेवा मार्फत  ३६ हजार भन्दा बढी नेपालीहरुले वन टु वट परामर्श (राहत, भाषा अनुबाद, स्थानीय कानून, रोजगार, नेपाल फर्किने आदि)  लिएको जनाइएको छ ।  

यसअघि संघले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भए लगत्तै संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ’कोभिड १९’ उच्चस्तरिय समिति गठन गरेर आफ्ना गतिविधीलाई तिव्र बनाएको छ ।