अमेरिकी उपराष्ट्रपतिका प्रेस सेक्रेटरी कोरोना संक्रमित, ट्रम्पका सहयोगीलाई पनि संक्रमण

शनिबार, २७ बैशाख २०७७, ०८ : ५५
अमेरिकी उपराष्ट्रपतिका प्रेस सेक्रेटरी कोरोना संक्रमित, ट्रम्पका सहयोगीलाई पनि संक्रमण

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी छन्। शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । त्यसको दुई दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

योसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति दुवैको सम्पर्कमा आएका वा उनीहरुको नजिक रहेका व्यक्तिहरु कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उपराष्ट्रपति पेन्स र राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि दैनिक परीक्षण गर्न थालेको छ । राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि हरेक उपायहरु अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट ७७ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा १२ लाख ८३ हजार भन्दा बढी पुगेको छ । शुक्रबार उपराष्ट्रपति पेन्स आयोवामा धार्मिक नेतासँगको भेटका लागि गएका थिए । त्यस क्रममा उनको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी केटीसँग हालै सम्पर्कमा आएका व्यक्तिहरुलाई विमानबाट निकालिएको जनाइएको छ । केटीसँग राष्ट्रपति र उपराष्ट्रपति हालका दिनमा सम्पर्कमा नआएको दाबी गरिएको छ । केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटको क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘केटी उत्कृष्ट महिला हुन् । लामो समयसम्मका परीक्षणमा उनका संक्रमण देखिएको थिएन । तर शुक्रबार अचनाक उनी संक्रमित रहेको देखियो ।’

ह्वाइट हाउसमै महामारी फैलिएको हुन सक्ने सम्बन्धमा गरिएको प्रश्नमा ट्रम्पले भने, ‘हामी सबैले गर्न सक्ने भनेको सावधानी अपनाउने हो र सकेसम्मको सावधानी अपनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस