स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ

पत्रपत्रिकाबाट

शनिबार, २७ बैशाख २०७७, ०६ : ३२
स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ

फाईल फोटो

काठमाडौँ । राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता दिनानाथ शर्माले भारतको सीमा क्षेत्रमा रहेका र अन्य मुलुकमा रहेका नेपालीका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । अहिलेको अधिवेशन नीति तथा कार्यक्रममा र बजेटमा केन्द्रित हुने स्पष्ट पार्नुुभयो ।

उहाँले विश्वभर फैलिएको कोरोना महामारीका कारण विदेशमा श्रम गर्न गएका युवा रोजगारी गुमाएर नेपाल फर्कने भएकाले ती युवालाई लक्षित गरी बजेट र नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विदेशबाट फर्कने युवालाई सम्बोधन गर्ने गरी सरकारले समयमै उचित कदम चाल्न पनि ध्यानाकर्षण गराउनुभयो । यसैगरी, उहाँले नेपालमा कोरोना महामारी ठूलो रूपमा फैलन नपाएको अवस्थाको चित्रण गर्दै सरकारको प्रशंसा गर्नुभयो ।

नेपाली काँग्रेसबाट संसदीय दलका नेता राधेश्याम अधिकारीले भारत र अन्य मुलुकबाट स्वदेश फर्कन चाहिरहेका नेपाली नागरिकलाई व्यवस्थित रूपमा नेपाल ल्याउन सरकारसँग माग गर्नुभयो । कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिकूल अवस्थामा औषधिलगायत आवश्यक सामग्री छिटो उपलब्ध गराइयोस् । ” गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस