बजेट अधिवेशन आज देखि, संसदको १२ सिटमा प्रधानमन्त्री एक्लै !

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, ०८ : २९
बजेट अधिवेशन आज देखि, संसदको १२ सिटमा प्रधानमन्त्री एक्लै !

काठमाडौं । बजेट अधिवेशन आजबाट शुरु हुदैछ । अपरान्ह ४ बजे संसदको दुवै अविधेशन राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा प्रारम्भ हुदैछ । २८ वैशाखमा प्रि बजेट छलफल र जेष्ठ २ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यसूचि बनाएको संसदले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा गरेर अधिवशेन आरम्भ गर्न लागेको हो ।

त्यसका लागि हिजो देखि नै साँसद र संसद सचिवालयका कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिसकेको छ । त्यो क्रम आज पनि जारी रहने त्यहाँ खटिएका मेलान नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिए । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन् ।  

अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद प्रा.डा. विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

प्रधानमन्त्रीलाई १२ सिट एक्लैं !
सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी ओली एक्लैलाई संसदमा १२ सिट छुटटाईएको छ । भर्खरै मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको दोहोरो सुरक्षालाई मध्यनजर गर्दै त्यस्तो व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । अघिल्ला दुई लहरमा रहेका १२ सिटमा प्रधानमन्त्री एक्लैलाई बस्ने व्यवस्था मिलाईएको छ । त्यसपछिका अन्य मा भने दुई दुई सिट छोडेर सांसद, मन्त्रीहरुलाई बस्ने ब्यवस्था मिलाईएको संसद सचिवालयले जनाएको छ ।

संयुक्त सदन बस्दा एक सय जना हाराहारीको संख्यामा सांसदहरूका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको छ । प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना हाराहारी सांसद माथि बस्नेछन् । जँहा दर्शकहरु र पत्रकारहरु यस अगाडी बस्दै आएका थिए । संसदमा प्रवेश गर्ने सांसदहरुका लागि सचिवालयले आचारसंहिता समेत बनाएको छ ।

उनीहरुलाई नयाँ वानेश्वरस्थित संसद भवन प्रवेश गर्ने बेलामै कोराना चेक जाँचको रिपोर्ट देखाउनु पर्ने, जाँदा एउटा ढोकाबाट र फर्किदा अर्काे ढोकाबाट फर्किनुपर्ने, जँहा बसिन्छ, सदन अवधीभर त्यही बस्नुपर्ने, त्यही रहेको माइकमात्र प्रयोग गर्न पाउने, घर फर्केपछि पनि परिवारका सदस्यसँग नभई एक्लै बस्नुपर्ने गरी सचिवालयले आचारसंहिता बनाएको छ ।  बैठकमा प्रवेश गर्नु अगावै अनिवार्य हात धुनुपर्ने, बैठक अवधीभर मेडिकल मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गरी समुहगत छलफलमा सहभागी हुन पाउने गरी आचारसंहिता बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस