स्वास्थ्य सामग्रीमा ल्याउन ढिलाइ

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०७ : १३
स्वास्थ्य सामग्रीमा ल्याउन ढिलाइ

काठमाडौं । सेनाले जिम्मा पाएको समयभन्दा १५ गुणाले कोरोना भाइरस संक्रमण बढीसक्दा पनि स्वास्थ्य सामग्री भित्र्याउन सकेको छैन। उसले चीनको पाँच दिने सार्वजनिक बिदालाई बहाना बनाएको छ।

सरकारले गत चैत १६ मा नेपाली सेनालाई स्वास्थ्य उपकरण आपूर्तिको जिम्मेवारी दिएको थियो। सेनाले गत चैत २५ मा मात्र औषधि खरिद प्रक्रिया अघि बढाएको र २२ वैशाख भित्र सामाग्री ल्याउने सार्वजनिक गरेको थियो। परराष्ट्र अधिकारीका अनुसार प्रक्रियासँगै कूटनीतिक पहल कदमीमा चुक्दा यस्तो समस्या आएको हो।

‘अझै दश दिन औषधि आउने नै देखिँदैन’, परराष्ट्र एक अधिकारीले भने, ‘हाम्रो कुटनीतिक हैसियत र पहलकदमीको प्रभावहिनता यहाँ देखिएको छ।’ यद्यपी यस विषयमा परराष्ट्र सचिव शंकरदास बैरागीले भने कूटनीतिक पहल भइरहेको बताए। प्रधानसेनापति पूर्णचन्द्र थापा स्वयंले बुधबार चिनियाँ दूतावासका सैनिक सहचारी (डीए) लगायतलाई जंगी अड्डामा बोलाएर स्वास्थ्य सामग्री जतिसक्दो छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे।

उनले बेइजिङस्थित आफ्नो डीएलाई पनि तत्काल पहलकदमी अघि बढाउन निर्देशन दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अन्नपूर्णलाई बताए। चिनियाँ डीएले छिटोभन्दा छिटो स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने उनले जानकारी दिए।

‘प्रधानसेनापतिले डीएसँग वातावरण मिलाउन आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक नोट तथा फोनमार्फत पनि चीनसँग पहल गरिरहेको छ’, प्रवक्ता एवं सहायक रथी पाण्डेले भने, ‘चीनमा पाँच दिन सार्वजनिक बिदा पर्नाले ढिलाइ भएको हो। छिट्टै सामग्री आउँछ। वायर हाउस पाइसकेका छौं। भन्सार क्लियर हुने वित्तिकै हामी दुई वाइडबडी त्यहाँ (क्वाङचाओ÷गोञ्जाओ) पठाउनेछौं।’

सडकमार्गबाट आउने सामग्री गत २२ गते सात ट्रक, २४ र २५ गते गरेर ३२ चीनबाट हिँडिसकेको जानकारी उनले दिए। ती सामग्री १० दिनभित्र काठमाडौं आइपुग्ने उनको दाबी छ। जहाजबाट ल्याउने सामग्रीमा भने ५ दिन सार्वजनिक बिदाले ढिलाइ भएको बताउने कुरा बाझिएको छ।  अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस