विप्लव समूहमा आबद्ध विरहीका सबै रोगको उपचार हुँदै

बुधबार, २४ बैशाख २०७७, १४ : १४
विप्लव समूहमा आबद्ध विरहीका सबै रोगको उपचार हुँदै

चितवन । नेत्रविक्रम चन्द समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उहाँ लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुग्नुभएको थियो । 

प्रहरीको निगरानीमा रहनुभएका उहाँलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उहाँको उपचार गर्ने काम जारी छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै  कमी हुन नदिने बताउनुयो । अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उहाँको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिनुभयो । 

डा  अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ । 
 
अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा  श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै उहाँले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिनुभयो ।

अध्यक्ष डा अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उहाँको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे अवगत गराएको छ । विरहीको परिवारले पनि अस्पतालमा उहाँको आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ ।
 
पार्टीको मर्यादाक्रममा छैटाँैं तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुनुहुन्छ । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका वडा नं १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उहाँको ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उहाँलाई निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उहाँलाई भरतपुर अस्पताल ल्याएको हो ।
 
रत्ननगर नगरपालिका वडा नंं ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आउनुभएको थियो । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गर्नुभएका उहाँ नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले चन्द निकट राजनीतिमा सक्रिय हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया दिनुहोस