ओलीलाई गलाउन नेकपाका २० स्थायी समिति सदस्यको मोर्चाबन्दी

पाटनमा नेकपाका २० स्थायी समिति सदस्यको गोप्य छलफल, एकीकृत र समान धारणा राख्ने, आवश्यक परे केन्द्रीय समिति बैठक बोलाउने सम्मको तयारी

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०७७, ०९ : १८
ओलीलाई गलाउन नेकपाका २० स्थायी समिति सदस्यको मोर्चाबन्दी

काठमाडौं । सत्तासिन नेकपामा स्थायी समिति बैठक माग गर्ने नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई पार्टी बैठकमा ¥याख¥याखती पार्ने रणनीति बनाएका छन् । ललितपुरको पाटनमा मंगलबार बैठक माग गर्ने २० जना स्थायी समिति बैठकको गोप्य बैठक बसेर ओलीलाई अध्यादेश प्रकरण, सांसद अपहरण, ‘यति देखि ओम्नी’ सम्मका कम्पनीहरुसँगको आर्थिक अराजकता लगायतका विषय उठान गर्दै अप्ठयारो पार्ने रणनीति तय गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत वैशाख ८ मा ल्याएको राजनीतिक दल विभाजन र सम्वैधानिक परिषद ऐन संसोधन गर्ने अध्यादेश पछि पार्टी बैठकको ति नेताहरुले लिखित पत्र बुझाउदै माग गरेका थिए । यसरी बैठक माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जर्नादन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषाल, भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, वेदुराम भुषाल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल छन् ।

नेकपाको अहिले कायम रहेको ४४ सदस्यीय स्थायी समितिमा यो संख्या झण्डै ५० प्रतिशतको हाराहारीको हो । उनीहरुले एकजुट भएर समान धारणा बैठकमा राखेभने बैठक प्रभावित हुने र बैठकले लिने निर्णय नै यिनै नेताहरुको धारणामा केन्द्रीत हुन सक्ने अनुमान लगाउन सकिन्छ । नेकपा स्थायी समिति बैठक २५ वैशाखमा बोलाईएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सामान धारणा बनाई कडा आलोचनामा उत्रने गरी आफुहरुले रणनीति बनाएको पाटन छलफलमा सहभागी एक स्थायी समिति सदस्यले सफलखबरसँग बताए ।

बैठकमा सचिवालयले ल्याउने एजेण्डामा आफुहरुलाई चित्त नबुझे एजेण्डा नै थप गरेर भएपनि कडा रुपमा प्रस्तुत हुने र आवश्यक पर्दा केन्द्रीय समिति बैठक समेत माग गर्ने निश्र्कष समेत उनीहरुले निकालेका छन् । ‘उहाँहरु (सचिवालय) ले के एजेण्डा ल्याउँछन्, त्यो उहाँहरुको कुरा भयो, तर हामी सचिवालयले ल्याउने एजेण्डामा मात्र भर पर्नेवाला छैनौं, सवै विषयमा खुल्ला छलफल गर्ने गरी जान लागेका छौं ।

सचिवालयले एजेण्डा ल्याउदा स्थायी समितिको भावनालाई बुझेर ल्याउनुपर्छ । तर सचिवालयले सोचेको मात्र एजेण्डा ल्याएभने हामी एजेण्डा थपेर जान सक्छौं, ति स्थायी समिति सदस्यले भने,–‘बैठकमा स्वतन्त्र ढंगले विविध विषयमा कुरा उठछन्, यो विषय, उ विषय भन्ने हुदैन । जे–जे भएको छ, ति सवै विषय उठ्छन् । आवश्यक परे केन्द्रीय समितिको बैठक पनि बोलाउनु पर्ने हुन्छ । त्यसको समेत हामी तयारी गरेर जान्छौं ।’

बैठकमा २० जना सदस्यले नै समान धारणामा कुरा राख्ने गरी मंगलबारको छलफलमा निश्र्कष निस्किएको छ । ‘सामान्यतया समान धारणा हाम्रा तर्फबाट जान्छ । तर आफ्ना फरक कुराहरु पनि जान्छन्, सारमा धेरै कुरा हाम्रा मिल्दा जुल्दा हुन्छन् । एकीकृत धारणाका रुपमा आफना कुरा हामी राख्छौं ।’ ति नेताले भने । बैठकमा आफुहरुको प्रस्तुती कसरी गर्ने, कुन रणनीतिका साथ जाने भन्नेमा पनि उनीहरुले छलफल गरेका छन् ।

नेताहरुले हतारमा झटपट बैठक टुंग्याउन खोजे प्रतिवाद गर्ने नीति पनि उनीहरुले बनाएका छन् । स्थायी समितिका अर्का एक सदस्यले भने,– ‘एक दिनमै फास्सफुस्स बनाउने गरी हामी बैठक सकाउन दिदैनौं, नेतृत्व हामीसँग कसरी प्रस्तुत हुन्छन्, हामीले उठाउने विषयमा नेतृत्वका नेताहरुको धारणा कस्तो बन्छ र कस्तो निर्णयमा पुगिन्छ, तर हामी बैठकमा वारपार नै गरेर कडाईका साथ नै जान चाहेका छौं ।’

गत शनिबारको सचिवालय बैठकले अध्यादेश प्रकरणपछि पार्टीभित्र सिर्जित विवादलाई प्रधानमन्त्री ओली देखि अन्य नेताहरुले पनि आ आफना कमीकमजोरी आत्मआलोचना गदै सञ्चाउदै जाने प्रतिवद्दता गरेर पार्टी विवाद मिलाएका थिए । तर सामान्य आत्मआलोचनाले मात्र पनि नेतृत्वका कमजोरी क्षम्य नहुने निश्र्कष नेकपाका २० स्थायी समिति सदस्यले निकालेका छन् ।

‘बैठकमा उठने एजेण्डाहरुको निरुपण नभएसम्म बैठक चल्छ त्यक्तिकै लटरपटर छोडिन्न । छिटो टुंगो लगाउने हो भने छिटै निर्णय गरेर टुग्याइन्छ, अलिक लामो छलफल गरेर टुग्याउने हो भने पनि त्यसै अनुसार जाने हामीले योजना बनाएका छौं,’ ति स्थायी समिति सदस्यले भने,–‘नेतृत्वको कुरा सुन्ने, अहिलेसम्मको घटनाक्रममा मूल्यांकन के हो, कति कुरामा उहाँहरुको रियलाइजेसन छ सुन्ने काम पहिले गछौं ।

सामान्य आत्मआलोचना ले मात्र हामीलाई हुदैन । पहिले उहाँहरुको प्रस्तुती हेर्छौं, सुन्छौं र हामी हाम्रो कदम स्थायी समितिमै बनाउँछौं ।’ प्रधानमन्त्री ओलीले अध्यादेश लगायतको विषयमा अध्यादेश फिर्ता भईसकेको, यस विषयमा सचिवालयमा नेताहरुका तर्फबाट कमजोरी स्वीकार गरेर आत्मआलोचना भईसकेकोले स्थायी समितिमा विषय लगेर गिजोल्न चाहिरहेका छैनन ।

तर यही विषय स्थायी समिति सदस्यहरुले बहस गर्न छोडने देखिदैनन् । ‘हामीलाई यतिमात्र बोल भन्ने उहाँहरु (सचिवालय) लाई अधिकार छैन, बोल्ने मुख थुन्ने अधिकार उहाँहरुलाई छैन । हामी चुप लागेर बस्दैनौ, बस्न पनि मिल्दैन’ एक सदस्यले भने,–‘मैले मन पर्ने मात्र बोल्न पाउने, मन नपर्ने नबोल भन्ने कुरा हँुदैन । आफुलाई लागेका कुरा हामी प्रष्टसँग राख्छौं ।’  स्थायी समिति सदस्यलाई बोल्ने समय थोरै निर्धारण भएमा बुँदागत रुपमा र अकिल समय प्राप्त भएमा त्यसको ब्याख्या सहित नै आफ्ना धारणा बैठकमा राख्ने रणनीति पनि उनीहरुले मंगलबारको छलफलबाट बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस