विचार

एक दापमा दुई खुकुरीको परिणाम

वीरेन्द्रमणि पौडेल

आइतबार, २१ बैशाख २०७७, १६ : ५१
एक दापमा दुई खुकुरीको परिणाम

File Photo

– वीरेन्द्रमणि पौडेल

नेपाली नागरिक समाजमा निकै लामो समयदेखि अनेकौं महत्वपूर्ण कथनहरु निर्माण भएका छन्, जो व्यवहारमा लागू हुँदा निस्केको परिणामलाई निष्कर्षको रुपमा प्रस्तुत गरिएको छ । तीमध्येको एक उखान हो “एउटा दापमा दुई खुकुरी अट्दैन वा जबर्जस्ती घुसाएर राख्न हुन्न ।” यदि जबर्जस्ती एउटा दापमा दुई खुकुरी राखियो भने त्यसको परिणाम ठीक हुन्न । 

नेपालमा यो उखानलाई हुबहु मिल्ने किसिमले एउटा दापमा दुई खुकुरी राखियो अर्थात् नेकपा माओवादी केन्द्र र नेकपा एमाले नामको दुई राजनीतिक दलबीच एकीकरण गरिए पश्चात् केपी ओली एमालेबाट र प्रचण्ड माओवादी केन्द्रबाट गरी दुई अध्यक्ष बनाइए । पृथ्वीमा जति पनि राष्ट्रहरु छन्, ती सबै राष्ट्रमा अनेकौं राजनीतिक दलहरु छन् तर एउटा पार्टीमा दुईओटा अध्यक्षचाहीँ छैनन् । अध्यक्ष भनेको एउटै हुन्छ । संसारमा पहिलो एउटा मात्रै हुन्छ, त्यसपछि दोश्रो, तेश्रो, चौथो हुन्छ । गणितको नम्बर पनि यही हिसाबले तयार गरिएका हुन्छन् । अब नेपालमा अड्को पड्को फुकाउने किसिमले गरे वा दुवैपक्षका नेता कार्यकर्तालाई चित्त बुझाउने उद्देश्यले गरे, जे सोचेर गरेपनि एउटा दापमा दुई कुखुरीको पाराले एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपामा दुई अध्यक्ष बनाइयो । दुई अध्यक्ष भएको पार्टीमा दुबैले बराबर भूमिका पाउने कुनै सम्भावना हुँदैन । तर खोजी भने दुवैले गर्ने  स्वाभाविक हुन्छ । 

झापा आन्दोलनबाट राजनीतिक कार्यकर्ताको परिचय बनाउँदै १४ बर्ष जेल जीवन बिताएर अनेकौं हण्डरठक्कर खाएर खारिँदैखारिँदै आउनु भएका केपी ओली आखिरमा आएर एमालेका अध्यक्ष हुनुभयो । यसपटकसहित दुई पटक प्रधानमन्त्री हुनुभयो । उहाँ एमालेभित्रका दुईतीनजना शेरमध्येका एक राजनीतिक शेर हुनुहुन्छ भन्ने राजनीतिमा चासो राख्ने सामान्य नेपाली नागरिकलाई पनि थाहा छ । 

अर्को शेर हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड । जनयुद्ध नाम दिइएको त्यत्रो भयंकर १० बर्षे नेपालभूमिभित्रको सशस्त्र युद्धको नेतृत्व गर्नुभएका प्रचण्डलाई पनि माओवादी केन्द्रका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले शेरकै संज्ञा दिन्छन् । यसरी एमालेका शेर र माओवादी केन्द्रका शेरलाई कुनै कारणले दुवै पक्षका अन्य नेताहरुको जोडबलमा एउटै पार्टी निर्माणमार्फत् एउटै पार्टीको एउटै पदमा एकै हैसियतमा राख्ने काम गरियो, जुन कामलाई आज पनि राजनीतिक विश्लेषकहरुले प्राकृतिक मान्न सकेका छैनन् । 

राजनीतिक दलमा दलको आफ्नो कानुन प्रयोग गर्न पाउने हुँदा मिल्दै नमिल्ने दुई अध्यक्ष पनि बनाइयो, मिलाइयो तर देशको संविधानमा दुई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था नहुँदा आपत् आइलाग्यो । दुवैजना प्रधानमन्त्री बन्न नमिल्ने भएपछि दुईमध्ये एकले कुर्न पर्ने अवस्था आयो । अहिले केपी ओली प्रधानमन्त्रीको कुर्चिमा हुुनुहुन्छ । प्रचण्डले कुरेर बस्नु भएको छ । कुर्न त अरुले पनि कुरेकै होलान् तर बराबर हैसियत भएका नाताले पहिलो नम्बरमा प्रचण्डले नै कुर्न सुहाउँछ । 

फेरि यसपटक नेपालको राजनीतिमा गज्जबको अवस्था सिर्जना भयो । पार्टीभित्र कोकोसँग सल्लाह भएको थियो थाहा छैन तर दुईमध्ये एक राजनीतिक दल सम्बन्धी राष्ट्रपतिद्वारा पारित गरिएको बिधेयकले एकप्रकारको राजनीतिक भूकम्प नै सिर्जना ग¥यो । प्रधानमन्त्रीले पास गराउनु भएको बिधेयकको विरुद्धमा पार्टीका धेरै नेताले तर्क गरे । अन्य राजनीतिक दलहरुले समेत विरोध गरेकै अवस्थामा प्रधानमन्त्रीले ठीक निर्णय नगरेको आरोपसहित घुमाउरो पाराले पदबाट राजीनामा मागिएपछि प्रधानमन्त्रीले अर्का सहकर्मी राजनीतिज्ञ बामदेव गौतमलाई उपयुक्त समयमा प्रधानमन्त्री बनाउने प्रस्ताव पेश गर्नुभयो । यो प्रस्ताव एकै पटक तुरुपको रुपमा हुकुमको एक्का साबित भयो । राजीनामाको माग सेलायो । आरोप प्रत्यारोप सकियो । कुनै एक निर्वाचन क्षेत्रबाट निर्वाचित गराएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मन पराएर वा नपराएर सबैले सहमति जनाए, झगडा सकियो भनियो । 

सबैलाई थाहा छ कि यो पार्टीभित्र सधैंभरि झगडा भइरहन्छ । कुनै शीर्षकमा मिलनबिन्दु खोजिन्छ, मिलिन्छ र फेरि गाँजेमाँजे गरिन्छ । जोडिएको यो पार्टी कसैले माने वा नमाने पनि सधैंभरि दुईचिरामा रहन्छ । हिजो कोको एमाले थिए र कोको माओवादी थिए स्पष्ट चिनिन्छ । समर्थन र विरोध पनि त्यही हिसाबले हुन्छ । यहाँनेर पनि के कुरा स्पष्ट भएको छ भने एक दापमा दुई खुकुरी राख्दाको परिणाम नकारात्मक निस्कियो । यसको प्रत्यक्ष घाटाचाहीँ प्रचण्डलाई पर्न गएको देखियो । 

संघीय संसदमा माओवादीकेन्द्रबाट निर्वाचित अहिले जति सांसदहरु छन् त्यति नै संख्या हुन्थ्यो र एमालेसँग पार्टी एकीकरण नभएको अवस्था हुन्थ्यो भने प्रचण्ड र नेपाली काँग्रेसबीच तालमेल र सहमतिपश्चात् अन्य साना दलहरु मिलाएर सरकार बन्न सक्थो र त्यो सरकारका प्रधानमन्त्री प्रचण्ड बन्न सम्भव थियो । त्यस्तो अवस्थामा राजनीतिक छिर्के दाउ हान्न नेपाली काँग्रेसले प्रचण्डलाई साथ दिन पनि सक्थ्यो तर यतिबेला त्यो सम्भावना पूरै टरेको छ । अब यतिबेला बामदेव गौतमको नाम अगाडि आएको छ । 

जनताले पत्याएर झण्डै दुईतिहाई मत दिएर सरकारमा पु¥याएको ठूलो पार्टी नेकपाले आफ्ना नेतामध्ये जसलाई प्रधानमन्त्री चयन गरोस्, त्यो पार्टीको निजी निर्णयको कुरा हो । यो मामलामा अरु दल दर्शकमात्रै हुन् । यो पार्टीले कुनै कारण भोलि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्ला वा माधव नेपाल, झलनाथ खनाल, सुभाष नेम्वाङ, भीम रावल, ईश्वर पोखरेल वा अन्य कसैलाई बनाउन सक्ला, त्यो बेग्लै विषय हो । तर जनताको चासो र चिन्ताको विषयचाहीँ प्रधानमन्त्री जो बनेपनि देशहितमा काम गर्न सक्ने हुनुपर्छ भन्ने नै हो । 

अब गल्तीको हकमा गल्ती भएको भन्नै पर्छ, लेख्नै पर्छ । नोबेल कोरोना भाइरसले मानव अस्तित्वलाई नै चुनौती दिइरहेको अवस्था र विश्व अर्थतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको डरलाग्दो स्थितिको ठीक तरिकाले मूल्यांकन गरेर सबै राजनीतिक शक्ति एकढिक्का भई देश र जनताको रक्षाको लागि सक्रिय रहनु पर्ने अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको रडाकोले सबै नेपालीलाई चिन्तित तुल्याएकै हो । यस्तो डरलाग्दो र दयनीय अवस्थामा त्यो पार्टीभित्रको किचलोबारे देशका जिम्मेवार राजनीतिक व्यक्तित्वहरुले कस्तो विचार निर्माण गरेका छन् ? राय बुझ्न उपयुक्त ठानियो । 

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य कीरणलाई पत्रकार वीरेन्द्रमणिको परिचय उपलब्ध गराउँदै सोधियो – सत्तारुढ दलका नेताहरु एकआपसमा यस्तो अवस्थामा आरोप प्रत्यारोपमा उत्रिनु भएको छ, यो यतिबेलाको उहाँहरु बीचको विवादबारे तपाईको बुझाइ के हो ? 

उहाँको जवाफ यस्तो छ – उहाँहरु गलत हुनुहुन्छ । यस्तो अवस्थामा सबै मिलेर कोरोना भाइरसलाई नियन्त्रण गर्ने र जनतालाई जोगाउने अवस्थामा अनावश्यक विषयको विवादमा अल्झिनु भएको छ । 

मोहन बैद्य कीरणले पार्टी र सरकार भन्दा देश, जनता र मानवताको पक्षमा आफ्नो अभिव्यक्ति दिनुभयो ।

माथिल्लो तहमा विवाद भएको देख्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाका चितवन अध्यक्ष यमबहादुर परियार र प्रदेश सांसद विजय सुवेदीले समेत यो खालको विवाद गर्न उपयुक्त नहुने बताउँदै विवाद समाधान हुने कुरामा आफूहरु विश्वस्त रहेको बताउनुभयो । 

यो कोणबाट यसरी हेर्दा राष्ट्रिय स्तरका नेता हुन् वा जिल्ला र गाउँका नेता कार्यकर्ता हुन् सबैको चाहना सरकार पूरा पाँच बर्ष चलोस्, कम्तीमा कोरोना कालभरि राजनीतिक अस्थिरता सिर्जना नहोस् । सबैको साझा प्रयासमा यो कोरोना महामारीबाट मुक्ति प्राप्त गर्न सकियोस् भन्ने देखिएको छ । नराख्नु एउटै दापमा दुई खुकुरीरुपी दुई राजनीतिक शेर प्रधानमन्त्री केपी ओली र भूतपूर्व प्रधानमन्त्री प्रचण्डलाई राखिँदा दुवैले असहज महसुस गरेको बुझ्न सामान्य नागरिकलाई समेत कठिनाइ हुन्न । तर कोरोना महामारीलाई अन्त्य गरौं, बाँकी विषयमा फेरि टेबुल ठोकाठोक गरेर पनि वार्ताद्वारा सबै खाले असन्तुष्टि हटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस