कीर्तिपुर राहत कोषको रु ५० लाख राहतमा

शनिबार, २० बैशाख २०७७, ११ : ४३
कीर्तिपुर राहत कोषको रु ५० लाख राहतमा

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाभित्र बसोबास गरेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय परिवारलाई दोस्रो चरणमा राहत वितरणको तयारी गरिएको छ । पहिलो चरणमा चार हजार एक सय घरपरिवार र एक हजार पाँच सय विद्यार्थीलाई राहत वितरण गरिएपछि पुनः दोस्रो चरणमा वितरणको तयारी गरिएको हो ।

सबै वडामा तथ्यांक संकलन भइसकेको र  अब एकदुई दिनमा पहिला छुटेकाहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने नगरपालिकाका उपप्रमुख  सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका स्थानीय विपन्न वर्गलाई दोस्रो चरणमा समावेश गरिनेछ । पहिलोभन्दा दोस्रो चरणमा ७५ देखि ८० प्रतिशतसम्म राहत वितरण संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । “पहिलो चरणमा राहत वितरणका लागि नगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषमा राखिएको  पचास लाख रुपैयाँ खर्च भइसकेको छ । वैशाखमा कीर्तिपुर महोत्सव सञ्चालन गर्ने भनेर राखिएको रु एक करोड रुपैयाँ राहत कोषमा राखिएको छ”, प्रवक्ता रिजालले भन्नुभयो, “सोही रकम राहतमा खर्च गर्ने विषयमा नगरकार्यपालिका बैेठकले निर्णय गरेको छ । हामीलाई व्यक्ति तथा संस्थाबाट नगद तथा खाद्य पदार्थ सहयोगसमेत भएको छ ।”

चार स्थानबाट निःशुल्क खाना 
कीर्तिपुरमा भाडामा बसेका विद्यार्थी तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई लक्ष्य गर्दै वडाको समन्वयमा विभिन्न व्यवसायीले चार स्थानबाट निःशुल्क खाना वितरण गर्दै आएका छन् । नगरपालिकाका नःगाउँ दोबाटो, नयाँबजार लोकतान्त्रिक चोक, पाँगा ढ्वाकासी र च्याखा कन्याचौरमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म निःशुल्क खाना खुवाउँदै आइएको छ । चारै स्थानबाट दैनिक सात सयदेखि आठ सय जनालाई खाना खुवाइएको वडा नम्बर ९ का वडाध्यक्ष गंगाराम महर्जनले जानकारी दिनुभयो ।(रासस)