चीनले आउँदो चुनावमा मलाई पराजित गर्न जे पनि गर्न सक्छः ट्रम्पको आरोप

विहीबार, १८ बैशाख २०७७, ११ : १९
चीनले आउँदो चुनावमा मलाई पराजित गर्न जे पनि गर्न सक्छः ट्रम्पको आरोप

file photo

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको चाहना आफू राष्ट्रपतिमा पुनः निर्वाचित नहोस् भन्ने रहेको आरोप लगाएका छन् ।  उनले भनेका छन्,–त्यसका लागि चीन जे पनि गर्न सक्ने उल्लेख गरेका छन् ।’ कोरोना भाइरसको महामारीको व्यवस्थापानमा चीनले खराब काम गरेको र पादर्शिता पनि नअपनाएको आरोप लगाउँदै आएका ट्रम्पले आलोचनालाई अर्को तहमा लगेका हुन् ।

समाचार संस्था रोयटर्सलाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोना भाइरसको महामारीका लागि चीनले गम्भीर परिणाम भोग्ने सम्भावना रहेको चेतावनी दिए । चीनले विश्व समुदायलाई कोरोना भाइरसको संक्रामण र त्यसको जोखिमबारे पहिले नै जानकारी दिनु पर्ने भएपनि त्यसबारे नदिएर गुपचुप राखेको आरोप लगाएका छन् । चीनको चाहना आफ्ना सम्भावित डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेन आउँदो चुनावमा विजयी हुन् भन्ने चाहना राखेको दाबी गरे । आउँदो चुनावमा बाइडेन विजयी हुने छन् भनेर आइरहेका सर्वेक्षणप्रति आफूलाई विश्वास नरहेको पनि ट्रम्पले बताए ।

उनले भनेका छन्, ‘मलाई सर्वेक्षणमा विश्वास छैन । मलाई विश्वास छ कि, यो देशका नागरिक सचेत छन् । मलाई लाग्दैन कि उनीहरुले असक्षम व्यक्तिलाई चुन्ने छन् ।’ उनका राजनीतिक सल्लाहकारहरुले गएको शुक्रबार महत्वपूर्ण राज्यहरुमा ट्रम्प पराजित हुने देखिएको आन्तरिक सर्वेक्षणको नतिजा प्रस्तुत गरेका थिए । त्यसपछि ट्रम्प उनीहरुसँग आक्रोशित भएको खबर अमेरिकी सञ्चारमाध्यमहरुले प्रकाशित गरेका थिए ।

उनका सल्लाहारहरुले आउँदो चुनावमा ट्रम्प महत्वपूर्ण राज्यहरु फ्लोरिडा, विस्कनसिन र एरिजोनामा पराजित हुने देखिएको बताएका थिए । यस्तै उनीहरुको सर्वेक्षणमा मिसिगनमा पनि ट्रम्प कमजोर देखिएको खबर समाचार संस्था एपीले प्रकाशित गरेको थियो । चीनले महामारी नियन्त्रणका लागि राम्रो काम गर्न नसकेको आरोप लगाउने ट्रम्पमाथि नै अमेरिकामा महामारी नियन्त्रणका लागि पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकाको अर्थतन्त्रमा गम्भीर असर परेको छ । पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र ४।८ प्रतिशतले गिरावट आएको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनको प्रमुख मुद्दा नै अर्थतन्त्र हो, तर त्यसमै कोरोना भाइरसले गम्भीर असर पारेको हो । चीनसँग यसअघि अमेरिकालाई ‘व्यापार युद्ध’ मा होमेका ट्रम्पले कोरोना भाइरसको महामारीलाई लिएर चीनमाथि चालिने कदमबारे भने केही खुलाएका छैनन् ।

उनले रोयटर्ससँग भनेका छन्, ‘मैले गर्न सक्ने धेरै कुरा छन् । हामी के गर्ने वा के हुनेछ भन्ने खोजिरहेका छौँ ।’ ट्रम्पले थपे, ‘चीनले आगामी चुनावमा म पराजित हुँ भन्नका लागि जे पनि गर्ने छ ।’ तर ट्रम्पले आफ्नो चुनावी अभियानका अधिकारीसँगको सामूहिक कलमा, ‘म जो बाइडेनसँग पराजित हुन्नँ’ भनेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस