म र प्रधानमन्त्री ओलीबीच भएको कुराकानीबारे मनमौजी किसिमले टिकाटिप्पणी भयो : वामदेव गौतम

आइतबार, १४ बैशाख २०७७, १२ : २५
म र प्रधानमन्त्री ओलीबीच भएको कुराकानीबारे मनमौजी किसिमले टिकाटिप्पणी भयो : वामदेव गौतम

 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुरा गरेको सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको बताएका छन् ।

गौतमले आइतबार विज्ञप्तिमा गर्दै यस्तो बताएका हुन् । हेर्नुहोस्, उनको विज्ञप्ति :

प्रेस नोट
हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । 

उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु । 

वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१४।०१।२०७७

प्रतिक्रिया दिनुहोस