मुस्लिम समुदायको रमजान सुरु, लकडाउनले प्रभावित

शनिबार, १३ बैशाख २०७७, १० : ४५
मुस्लिम समुदायको रमजान सुरु, लकडाउनले प्रभावित

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् । त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । मुस्लिम समुदायको पर्व रमजान शुरु भएपनि विगतका वर्ष जस्तो गरि मान्न नपाउने भएका छन् ।

मुलुक लकडाउनमा रहेकाले सामुहिक नवाज पढ्ने, देखि लिएर समुहमा हुने क्रियाकलाप गर्न नपाउने भएकाले पर्व नै खल्लो हुने उनीहरुको बुझाई छ । आज बाट शुरु भएको रमजनामा मुस्लिम समुदायले निराहार बसी निष्ठाका साथ यो पर्व मान्छन् । मानवलाई हरेक पापबाट बचाउन र अरूलाई सहयोग गर्ने भावना जागृत गराउने भएकाले यो महिनालाई मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गर्छन् । आठौँ ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु गर्ने गरिएको मुस्लिम धर्मका जानकार बताउँछन् ।

१ महिनासम्म चल्ने रमजान यसपटक आजबाट सुरु भएको छ जो एक महिनासम्म चल्नेछ । रमजानमा मुस्लिम धर्मावलम्बी रोजा (उपवास) बस्ने परम्परा रहेको छ । ३० दिनको रोजा सकिएको भोलिपल्ट ‘इदउल फित्र’ पर्व मनाइने गरिन्छ । रोजा बस्नेले शरीर शुद्ध राख्नुपर्छ । दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ । रोजा मुस्लिम धमावलम्बी सूर्य उदाउनु भन्दा २ घण्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु गर्छन् जो सूर्यास्त भइसकेपछि अवतारिक गरी खोल्ने गर्छन् । रोजाको समयमा मुसलमानहरु निराहार बस्ने प्रचलन रहेको जनकपुरधामका राजनीतिकर्मी साजिद हुसैनले बताए ।

सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्ने गरिन्छ । त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ ।
विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूल लगायत खाने परम्परा रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व उपमेयर असगर अलीले बताए । यसले हरेक व्यक्तिबीच अपनत्व, ममता र माया बढाउन पाठ सिकाउने गरेको अलीले अगाडि बताए । इस्लामको ५ आधार स्तम्भहरु इमान ९आस्था०, नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मा मध्ये रोजा पनि एक खम्बा रहेको छ । अरू महिनाको तुलनामा रमजान महिनालाई मुस्लिम धर्माबलम्बीहरुले पवित्र महिनाको रूपमा विश्वास गर्ने गरेको जानकार बताउँछन् ।

रमजान महिनालाई दान गर्ने महिनाको रुपमा समेत लिइने गरिन्छ । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । कुरानका अनुसार बालिग वयस्क मुसलमानलाई रोजा अनिवार्य रुपमा गर्नै पर्छ । रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मद माथि कुरानका आयातहरु (श्लोक) अवतरण हुन सुरु भएको थियो । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरानको अवतरण सुरु हुन थालेको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस