हिम पहिरोमा बेपत्ता भएकाको खोजी गर्दै नेपाली सेना

शनिबार, १३ बैशाख २०७७, ०९ : ४३
हिम पहिरोमा बेपत्ता भएकाको खोजी गर्दै नेपाली सेना

काठमाडौँ । कास्की जिल्ला अन्नपूर्ण गाँउँपालिका वडा न १ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी केही महिना अघि ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटक बेपत्ता भएका थिए । 

त्यसमध्य १ जना नेपाली गाईडको शव पहिल्यै फेला परिसकेको थियो । हालैमात्र थप १ जना नेपालीको शव निकालिएको छ । हिउँमा शव देखिएपछि नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा पोखरा स्थित श्री सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले सो शव निकालेको हो । खोजी कार्यको लागि आवश्यक ईक्युप्मेण्ट तथा नेपाल प्रहरीका १ जना प्रतिनिधि सहित शुक्रबार नेपाली सेनाको हेलिकप्टरद्धारा घटनास्थलतर्फ टोली उद्धारका लागि गएको थियो । 

टोलीले उक्त स्थानमा देखिएको धादिङ्ग जिल्ला गंगा जमुना गाउपालिका वडा न १ किचेत बस्ने मेम बहादुर तामाङ्ग (पोर्टर) को शव फेला परेको हो ।  यहाँ ३ वटा झोला निकाली प्रहरीको जिम्मा लगाएको सेनाले जनाएको छ । हाल  शवलाई पोष्टमार्टमको लागि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

साथै खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराईरहेका बाँकी १ नेपाली र ४ कोरियालीहरुको खोजी गर्दा हिंउ भित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिंउ जमिरहेकोले फेला पर्न सकेको छैन । टोली एक जनाको शव लिएर फिर्ता भएको छ । साथै नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस