नेपाल पत्रकार महासङ्घ गण्डकीद्वारा पत्रकारलाई सुरक्षा सामग्री प्रदान

शुक्रबार, १२ बैशाख २०७७, १८ : ३८
नेपाल पत्रकार महासङ्घ गण्डकीद्वारा पत्रकारलाई सुरक्षा सामग्री प्रदान

पोखरा । कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहनुभएका धवलागिरि क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो । बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।

कोभिड–१९ को समाचार सङ्कल र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् । उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङ्कटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे । 

सामग्री बुझेपछि बोल्दै महासङ्घ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखिन् । शाखाले पनि विभिन्न निकाय र सङ्घसंस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उनको भनाइ छ । यस अघि सुरक्षा सामग्री हाल सम्म प्रदेश समितिले तनहुँ, लमजुङ, गोरखा, नवलपरासी (पूर्व) र मनाङका लागि सामाग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस