‘ढिलो भएर के भो त ? भत्ता घरमै आयो !’

रासस

शुक्रबार, १२ बैशाख २०७७, १६ : ३०
‘ढिलो भएर के भो त ? भत्ता घरमै आयो !’

फाईल फोटो

काठमाडौं । जैमिनी नगरपालिका–१० राङ्खानीका नारायणदत्त जैसीले बिहिबार आफ्नै दैलोमा सामाजिक सुरक्षा भत्ता लिनुभयो । चार÷चार महिनामा आउने भत्ता यसपाली छ महिनापछि अयो तर नारायणदत्तललाई भने ढिलै आएको भएपनि घरमै आएको भत्ताले खुशी तुल्याएको छ ।

“ढिलै भएनि भत्ता त घरै आयो, लकडाउन छ हाम्ले नि गुनासो गर्न भएन नि !”, ७२ वर्षीय जैसीले भन्नुभयोे, “केही गुनासो छैन, खुसी लाको छ ।” वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीले घरघरमा पुगेर भत्ता वितरण गर्दा लक्षित वर्ग सबैले खुशी मानेका छन् । “टोलमै आएर दिनुभएको छ, ढिलो भएर के भो त !”, सोही गाउँकी ५० वर्षीया रानी नेपालीले भन्नुभयो– “सरकारले हाम्लाई बचाउन गरेको बन्दको कुरा त हाम्लेनी बुझन्नु परो नि !”

जैमिनी नगरपालिकाले बैंक पहुँच नभएका वडा नं.६ अर्जेवादेखि वडा १० राङ्खानीसम्म लक्षित वर्गका घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहेको जनाएको छ । लकडाउनका कारण प्रभावित भएको सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई नगरपालिकाले घर घरमा पुगेर वितरण गर्न थालेको हो । नगरका कर्मचारी र जनप्रतिनिधि घर घरमा पुग्न थालेपछि लक्षित वर्ग निकै खुशी छन् । 

वडाध्यक्ष, वडासचिव र सहायकले झोलाभरी कागज, स्ट्याम्प छाप र नोट (रकम) बोकेर गाउँ डुल्न थालेको केही दिन भइसक्यो । वडाभरी कैयौं टोल छन् । उनीहरु जुन टोलमा पुग्छन्, त्यहाँ बुढापाका, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई भेट्छन् । उनीहरुको विवरण अध्यावधिक गर्छन्, पैसा बाँड्छन् र अर्को टोलमा निस्किन्छन् । जैमिनीका पाँच वटा वडामा यसरी नै सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहेको छ । 

फागुनमै पाउनुपर्ने भत्ताको दोस्रो चौमासिकको रकम ढिलै भएपनि घरदैलोमा पु¥याउने प्रयत्नमा रहेको जैमिनी नगरपालिका–८ का वडाध्यक्ष विजय अधिकारीले बताउनुभयो । निकासा नै ढिलो आएकाले लकडाउनका कारण नगरपालिकाले ढिलो गरी नै भत्ता वितरण थालेको हो । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण एकै ठाउँमा जम्मा गरेर वा वडा कार्यालयमा नै बोलाएर भत्ता बाँड्ने अवस्था छैन् । सुरक्षा सावधानी अपनाएर घरघरमै पुगेर भत्ता बाँड्ने काम थालेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनुभयो ।

नगरपालिकाले बाँकी पाँच वडामा बैंकमार्फत लाभग्राहीको खातामा रकम जम्मा गरेर भत्ता वितरण गरिरहेकै छ । पालिका मुकाम कुश्मीशेरा बजारमा रहेको एनएमबी बैंकले पनि भत्ता पाउनेहरुको खातामा रकम जम्मा गरेर वितरण थालेको हो । एक दिनमा बढीमा ३० जनाले पालैपालो सामाजिक दूरी कायम गरेर लिन पाउने गरी भत्ता वितरण थालिएको कर्मचारी भीमप्रसाद सुवेदीले बताउनुभयो । बैंकले वडा नं. १ देखि ५ सम्म पालो लगाएको छ । “अत्यावश्यक भएकालाई प्राथमिकता दिने भनेर वडाले सिफारिस गरेकालाई मात्रै दिनु भनेका छौं”, प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयोे, “वैशाखभित्र सबैले भत्ता पाइसक्छन् ।”

“दुरुपयोग रोक्नका लागि वडासचिवसँगै जनप्रतिनिधि पनि पठाउन भनेका छौं”, नगरपालिकाका उपप्रमुख लिला रानाले भन्नुभयो, “कठिन परिस्थितमा पनि सरकार घर घरमा पुग्दैछ भन्ने जनताले महशुस गर्ने छन् ।” नगरपालिकामा झण्डै ५ हजारले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यो चौमासिकका लागि पनि रु ४ करोड ५० लाख पेश्की निकासा भएको नगरपालिका लेखा शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस