डब्लुएचओले भन्यो : ‘कोरोना खोपको उत्पादन तथा वितरण अति चुनौतीपुर्ण’

मंगलबार, ०९ बैशाख २०७७, ०८ : ४०

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने बताएको छ ।

डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा। माइकल रायनले सोमबार खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतिपूर्ण रहेको बताएका हुन् । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार वा भाइरसविरुद्धको खोप अहिलेसम्म बनेको छैन । विश्वभरका दुई दर्जन भन्दा बढी कम्पनीले खोपको उत्पादनका लागि काम गरिरहेको बताइसकेका छन् । त्यसमध्ये कम्तिमा तीनवटा सम्भावित खोप अहिले मानवीय परीक्षणको चरणमा छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा। एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप अझै कम्तिमा १८ महिना पर रहेको अर्थात डेढ वर्षपछि मात्रै प्रयोगमा आउन सक्ने बताएका छन् । अरु विज्ञले सो समयावधी पनि अति आशावादी भएको बताउने गरेका छन् । अहिले सही खोप पत्ता लगाउनमा अनुसन्धानकर्ता लागेका छन् । सही खोप बनेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिने पर्ने डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. रायनले बताए ।

विश्वका अर्बौँ मानिसलाई खोपको आवश्यकता पर्न सक्ने भएकाले सोही अनुसारको उत्पादन हुनु पर्ने उनको भनाई छ । सो खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी उनले दिएका छन् ।

सबैलाई र सबै क्षेत्रमा उपयुक्त मात्रामा खोपको वितरण या पहुँच होस् भन्नका लागि डब्लुएचओले काम गरिरहेको उनले बताए । त्यसका लागि विश्वभरका सरकार तथा बिल एण्ड मेल्न्डिा गेट्स फाउन्डेसनसहितका गैरसरकारी दातृ निकायसँग पनि परामर्श भइरहेको डा. रायनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस