Safal Khabar - अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै
शनिबार, ३१ साउन २०७७ (Saturday, 15 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै
शनिबार, ०६ बैशाख २०७७, २१ : ५४
अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै
फाईल फोटो

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिनुभएको छ । 

उहाँले मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाउनुभएको हो । अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गर्नुभयो । 

सो अवसरमा उहाँले प्रदेश सरकारले अलपत्र परेका सबै यात्रुको मानवीय ढङ्गमा व्यवस्थापन गर्ने बताउनुभयो । पौडेलले यात्रुसँग कुराकानी गर्दै विभिन्न सुझावसमेत दिनुभयो । उहाँले अब घर फर्केर कृषि उत्पादनमा लाग्न सल्लाहसमेत दिनुभयो । 

Yeti Diistillery
Tansen Cement box

सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार मानवताको पक्षमा रहेको बताउनुभयो । उहाँले अलपत्र परेका यात्रुहरुसँग काठमाण्डौं छाड्नुपर्ने कारणका बारेमा सोध्नुभएको थियो । जवाफमा कतिपय यात्रुले काम नभएको, आफूहरुसँग भएको खर्च सकिएको तथा मजदूर भएका कारण प्राप्त राहत अपुग भएकाले घर फर्कनुपरेको बताएका थिए । 

काठमाण्डौंबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिनुभयो । 

यसैबीच सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाउनुभएको थियो । पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरीवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले गाडी पठाउनुभएको थियो । हरिवनका नगर प्रमुख प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भन्नुभएको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करीब ४ः०० बजे भिमफेदी आईपुगेका थिए  । उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ । लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पु¥याइने लामाले जानकारी दिनुभयो । यात्रुको उद्धारमा मुख्यमन्त्री पौडेलसँग समन्वय गर्नुभएका अध्यक्ष लामाले अलपत्र यात्रुलाई खानपिन र बास बस्ने व्यवस्थाका लागि भएको सम्पूर्ण खर्च भीमफेदी गाउँपालिकाले व्यहोर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस