सुलभ अग्रवाललाई जोगाउन शक्ति केन्द्र धाउँदै उद्योग परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष राजेशकुमार अग्रवाल

सुलभ जोगाउन शक्ति केन्द्र धाउने यी ब्यापारी चिनौं

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०७७, १२ : ३६
सुलभ अग्रवाललाई जोगाउन शक्ति केन्द्र धाउँदै उद्योग परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष राजेशकुमार अग्रवाल

काठमाडौं । जगदम्बा स्टिलका सञ्चालक शुलभ अग्रवाल पक्राउ परेको आज १२ दिन पुगेको छ । गत चैत २५ मा थर्मल गनको कालोबजारी गर्दागदै रंगेहात पक्राउ परेका उनी अहिले दरबारमार्गस्थित प्रहरी प्रभागको हिरासतमा छन् ।

काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पहिलो पटक ७ दिन र त्यसपछि थप ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अहिले अर्बपति यी ब्यापारीको कालोधन्दाका विषयमा अनेक कोणबाट अनुसन्धान गरिरहेको छ ।
कोरोना महामारीसँग विश्व जुधिरहेका बेला अर्बपति ब्यापारीहरुले राज्यलाई सहयोग गर्नुपर्नेमा शुलभ यस्ता ब्यापारी देखिएका थिए– बाहिर देखिँदा उनी भलाद्मी र सहयोगी तर भित्र कालोधन्दाका ब्यापारी ।

उनको देखिएका र नदेखिएका दुई अनुहार त्यसबेला उदाङ्गो भएको थियो, जतिबेला उनी २५ सय रुपैया पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयामा कालोबजारी गर्दा गर्दै रंगेहात प्रहरीको कब्जामा परेका थिए ।
किर्गिस्तानका अवैतानिक दुत, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष र जगदम्बा स्टिलका सञ्चालक समेत रहेका अर्बपति ब्यापारी जम्माजम्मी २४ करोडको कालोबजारीको खेलमा किन लागे होला ? उनले सरकारले औषधी तथा स्वास्थ्य उपकरण ल्याएको जहाजबाटै चार्टर गरेर सेटिङ्मै २० हजार थान थर्मल गन र केही पिपिई नेपाल भित्र्याएका थिए । 
जब प्रहरी कब्जामा उनी परे, उनले त्यहाँबाट उम्कन गरेका अनेक प्रयासदेखि उनलाई छुटाउन आएका राजनीतिक दबाव, ब्यापारीहरुका संगठित दबावपछि उनीमाथी प्रहरीले थप अनुसन्धान गर्न चाह्यो ।

जब उनी प्रक्राउ परे, त्यसपछि प्रहरीले गरेका अनुसन्धानमा उनका अनेक काला कर्तुत छरपष्ट हुदै पोखिन थाले । प्रहरी स्रोत भन्छ, उनका धन्दा थर्मल गनको कालोबजारीसँग मात्र जोडिएको छैन ।
उनले महामारीमा कालोबजारी गरेर करोडौं कमाउने काम मात्र गरेका छैनन् । उनका उद्योगहरुले गरेका भ्याट छली, फिडरलाइनमा अनियमितता, गुणस्तरहीन वस्तु उत्पादन गर्दै सर्वसाधारणमाथीको ठगीदेखि विद्युत प्राधिकरणमा राजनीतिक पहुँच र दबावका आधारमा २ अर्ब ६५ करोड रुपैया वक्यौता समेत तिर्न गरिरहेको अनाकानीसम्मको फेहरिस्त अहिले प्रहरीले जम्मा गरेको छ ।

कवाडी सामनबाट गुणस्तरहीन रड उत्पादन गर्नेदेखि भ्याट छली गरेपछि २०६८ सालमा उनलाई दिन लागिएको सीआइपी सम्मान समेत शुलभले गुमाएको सम्मको नालीवेली प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउपछि नर्भिक अस्पतालमा बिरामीको बहानामा बस्न सेटिङ मिलाउन नै उनले डेढ करोड रुपैयासम्म खर्चिन गरेको प्रयाससम्मलाई अहिले हेर्दा लाग्छ, अर्वपति शुलभ कालो धन्दाकै कारण शंकर गुप्रका उपाध्यक्षदेखि नामुद ब्यापारी बनेका रहेछन् ।  

हुन त उनको पक्राउपछि अहिले महावाणिज्यदुतको पद पनि उनले गुमाईसकेका छन् । कुटनीतिक नियोग तथा दुतावासले प्रयोग गर्ने २०९ एचसीसी १ नम्वरको निलो प्लेटको गाडी प्रयोग गरेरै कालोबजारीमा प्रहरी कब्जामा परेपछि अन्य महावाणिज्यदुतहरुका पनि निलो नम्वर प्लेट सरकारले खोसेको छ । तर पनि प्रहरी हिरासतमा बसेर त्यहाँबाट उम्कन उनका अनेक दाउ भने अझै कायमै देखिन्छ ।

शुलभ छुटाउन ब्यापारीहरुको लर्को
यदि कोही असल नियतका ब्यापारी हुन्थे भने अहिले शुलभ कालो धन्दा गर्दागर्दै पक्राउ परेपछि उनीमाथीको अनुसन्धान निष्पक्ष गरी दोषी देखिए कारवाही गर्न उद्योगी ब्यवसायीहरुले सरकारलाई सहजीकरण गर्नुपर्दथ्यो । तर शुलभले जस्तै पर्दाभित्रबाट अनेक धन्दा गरी अर्वपति बनेका ब्यापारीहरु भने एउटा पक्राउ पर्दा अर्काको धन्दाको पनि पोल खुल्लान् र असहज अवस्था आउनलान् भनेर शुलभको रिहाईका लागि ज्यान फालेर शक्तिकेन्द्र धाउन थाल्छन् ।

यस्तैमध्येका ब्यापारीहरु हुन्, – सतिश मोर, अनुज अग्रवाल, राजेश अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका लगायत ।
सतिश मोर उद्योग परिसंघका अध्यक्ष पनि हुन् । त्यही शुलभ उपाध्यक्ष थिए । मोर र उनी मिलेर कतिपय ब्यवसाय साझेदारी गरिरहेका कारण पनि शुलभको पक्राउले आफनो धन्दा पनि खुल्न सक्ने भयमा यतिबेला परिसंघका अध्यक्ष मोर छन् । घोराही सिमेन्ट र मैनबत्ती स्टिल्सका अनुज, आरएमसी ग्रुपका राजेश देखि गोल्छा अर्गनाईजेसनका डाइरेक्टर शेखर, अर्घाखाची सिमेन्टका मालिक समेत रहेका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका लगायत अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म शुलभ छुटाउने दौडमा जुटेका छन् । 

त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई पनि उनीहरुले चर्को प्रेसर गरिरहेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, सिंचाई उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनसम्म पनि यि ब्यापारीहरु शुलभ रिहाईको याचना सहित पुगिसकेका छन् ।
अहिले अदालतमा कनेक्सन मिलाउने र छुट्ने योजनामा शुलभ देखिन्छन् । त्यसका लागि छिटोभन्दा छिटो प्रहरी अनुसन्धान टुग्याउन अहिले ब्यापारीहरुको जोडबल देखिन्छ । शुरुमा मुद्दा नै नचलाई छुटाउन गरेको प्रयास असफल भएपछि यी ब्यापारीहरु शुलभलाई छुटाउन प्रहरीदेखि अदालतसम्मको सेटिङको खोजीमा दौडधुप गरिरहेको स्रोत बताउँछ ।

शतिश मोर, शेखर गोल्छादेखि पशुपति मुरारकासम्म अवैतनिक दुतको आवरणमा कुटनैतिक नम्बर प्लेटको गाडी नै लिएर कालो बजारी गरेका विचौलियालाई निर्दोष भन्दै छुटाउन लविङमा कुदेको विषयले कतिपय उद्योगी ब्यवसायी नै रुष्ट बनेका छन् । परिसंघका अध्यक्ष मोर र उपादक्ष राजेशकुमारको सुलभ बचाउन गरिएको दौडधुपले परिसंघभित्र खैलाबैला सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस