खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा

पत्रपत्रिकाबाट

शनिबार, ०६ बैशाख २०७७, ०७ : ०५
खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा

फाईल फोटो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले नि:शुल्क भिसा, नि:शुल्क टिकट ‘लागू’ गरेको भए पनि उनले १ लाख ३० हजार रुपैयाँ खर्च गरिन् र पुस ३ गते यूएई उडिन् ।

दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम पाएकी स्नेहा स्कुल सरसफाइमा जान्थिन् । काम सुरु गरेको एक महिना बित्दा चीनको वुहानमा कोभिड–१९ संक्रमणको पुष्टि भईवरी तीव्र गतिमा अन्य देशमा फैलिन थालिहाल्यो । संक्रमणको जोखिमले दुबईका स्कुल बन्द हुन थाले । स्नेहा माघ २६ देखि कामविहीन भइन् । चैत २४ गते उनलाई कम्पनीले ५ सय दिराम थमाइदियो । त्यो पैसा कामको पारिश्रमिक हो कि कम्पनीले संकटमा काम चलाउन दिएको हो, उनले मेसो पाएकी छैनन् ।

तर उनले त्यही पैसाले केही दिन छाक टार्न पुग्यो । यति बेला उनलाई विदेश आउँदा लागेको ऋण कसरी तिर्ने, घर खर्च कसरी पठाउनेभन्दा पनि दुई छाक कसरी पुर्‍याउने भन्ने चिन्ताले पिरोलेको छ ।
कम्पनीले दिएको घरमा उनी अन्य १ सय २० नेपाली महिलासँगै बसेकी स्नेहाले कान्तिपुरसँग भनिन्, ‘अर्को महिनादेखि तलब आउँदैन भन्ने मौखिक जानकारी आएको छ ।’

यतिबेला उनीसहितका नेपाली गैरआवासीय नेपाली संघले दिएको राहतबाट केही दिनको गर्जो टारिरहेका छन् । ‘काम कहिले सुरु हुन्छ भन्ने पनि थाहा छैन । कम्पनीले राहत दिन्छ कि दिँदैन भन्ने पनि थाहा छैन,’ उनले भनिन् ।

सन्निकट दिनको संकट र के गर्ने भन्ने छटपटी र अलमल पर्नेमा स्नेहा एक्ली कामदार होइनन् । शुक्रबारसम्म यूएईमा मात्रै ५ हजार ८ सय २५ लाई कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ जसमा १२ नेपाली पनि छन् । संक्रमणकै कारण एक नेपालीले ज्यान गुमाएका छन् । यी सबै खबरबारे जानकार स्नेहालाई १४ जना एउटै कोठामा गुम्सिएर बस्दाको छटपटी र हरेक दिन खाना खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ । नेपालको दोस्रो ठूलो श्रम गन्तव्य यूएईमा २ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । जुन वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको २६.५ प्रतिशत हो ।