निःशुल्क पाउने सेनिटाइजर बिक्री गर्ने औषधि पसल बन्द

विहीबार, ०४ बैशाख २०७७, ११ : १७
निःशुल्क पाउने सेनिटाइजर बिक्री गर्ने औषधि पसल बन्द

नेपालगंज । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको सेनिटाइजर बिक्री गरेको अभियोगमा एक औषधी पसल बन्द गराईएको छ । 

एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले छापा मारेर कमला मेडिसिन बन्द गराएको छ । 

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल ६ सय रुपैयाँका दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले सो फर्म बन्द गरेको जनाइएको छ ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस